स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री देउवालाई भेटे प्रचण्डले

स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री देउवालाई भेटे प्रचण्डले
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  आश्विन १३, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर फर्केलगत्तै पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको छ ।

माओवादी केन्द्रको आजको बैठकले मन्त्री बन्नेको नाम टुंगो लगाउने एक नेताले बताए । माओवादीले यसअघि जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जामन्त्रीका रूपमा सरकारमा पठाइसकेको छ । 

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको हो । प्रधानमन्त्री देउवाले बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने बाल्वाटार स्रोत बताउँछ । प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा सरकार संचालन र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलहरूसँग मन्त्री बन्नेहरूको नाम मागेका छन् । कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५/५ मन्त्री र एक राज्यमन्त्री पाउने सैद्धान्तिक सहमति जुटिसकेको छ ।