कांग्रेस अधिवेशन : २२ जना पुरुषसँग लड्ने एक्ली माया

कांग्रेस अधिवेशन : २२ जना पुरुषसँग लड्ने एक्ली माया

न्युज कारखाना  |  समाचार  |  आश्विन १३, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कपिलवस्तुमा बुधबार नगर तथा गाउँ अधिवेशन सुरु भएको छ । १० वटा पालिकामध्ये ९ वटा पालिकामा आज अधिवेशन भइरहेको छ ।

२३ जनाले सभापति पदका लागि उम्मेदवारी दिएका छन् । तर, सभापतिका लागि जिल्लामा एक जना महिलाको मात्र उम्मेदवारी परेको छ । कपिलवस्तु नगरपालिकाको नगर सभापतिका लागि नगर समितिका पूर्वसचिव माया ज्ञवालीले उम्मेदवारी दिएकी हुन् ।

जिल्लामा रही सामाजिक अभियान र मानवअधिकारको क्षेत्रमा पैरवी गर्दै आएकी ज्ञवालीले उम्मेदवारी दर्ता गरेकी छन् । महिलाले अवसर पाए पुरुषले जस्तो काम गरेर देखाउन सक्छन् भन्ने देखाउन उम्मेदवारी दिएको ज्ञवालीले बताइन् ।

२०६५ सालमा क्रियाशील सदस्य बनेकी ज्ञवाली कुनै पनि खेमामा नलागी साझा उम्मेदवार बनेकी हुन् । विभिन्न कार्यक्रममा सहभागी हुँदा महिलाले नेतृत्व लिनुपर्ने आवाज उठेपछि सभापतिको पदमा उठ्ने निर्णय लिएको उनले बताइन् । 

सभापतिको उम्मेदवारी परेसँगै आफूलाई फिर्ता लिन दबाब आएको उनको भनाइ छ । महिलाप्रति आत्मबल बढाउन भए पनि उम्मेदवारी फिर्ता नलिने योजना रहेको उनले बताइन् । कुनै खेमातर्फ नलागे पनि ज्ञवालीले गरेको सामाजिक कामले उनलाई समर्थन गर्नेको संख्या धेरै रहेको कांग्रेस नेता आरएन ठाकुर बताउँछन् । नगर सभापतिका लागि ज्ञवालीसँगै गोपीकृष्ण शर्मा, प्रशान्त कार्की, खुर्सेद अहमद खाँले निर्वाचन लड्ने भएका छन् ।