देश किन बनेन ? प्रश्न अरूलाई गर्ने कि आफैँलाई गर्ने

असतो मा सद्गमय

देश किन बनेन ? प्रश्न अरूलाई  गर्ने कि आफैँलाई गर्ने

कैलाशकुमार सिवाकोटी  |  दृष्टिकोण  |  आश्विन १३, २०७८

हुँदाहुँदै हामी यहाँ आइपुग्यौँ– आइतबार पनि नेतृत्वको बोलीेपछि सोमबारमा रूपान्तरण हुन्छ । यति स्वाभिमानी र प्रश्नशील भएका छौँ– आफ्नाको अँअँ अपुङ्गो र अर्काको पञ्चामृत पनि छिः छिः बनाउने ल्याकत राख्छौँ । 

ज्यानमा यताका हौँ ध्यानमा उताका ! हामी बहुमुखी प्रतिभाका धनी हौँ । त्यसैले होला एकसाथ दलको नेता, कार्यकर्ता र संचारकर्मी बन्न सक्छौँ । शिक्षक र नेता बन्न हामीलाई कुनै आँधीबेहरीले छेक्न र रोक्न सक्दैन । अधिकारकर्मी र कानुन व्यवसायी र नेता त जुम्ल्याहा सन्तान नै भइहाल्यौँ । यस्तै यस्तै...!

सत्ताको ढोकाबाहिर रहेका बेला मुलुक दुब्लाएको, न्यास्रिएको देखिन्छ । चाउरिएका, फुस्रा मुहारहरू भल्झली नाच्छन् । डाँडाँकाँडा, उकाली–ओरालीहरू भेटिन्छन् । सहयात्रीहरू चिनिन्छन् । जब भित्र छिरिन्छ, ढोका ढ्याप्प लाग्छ । त्यहाँ गरिबी, पीडा, अन्याय, अत्याचार केही पनि भेटिँदैन । अनुहारमा चमक, उज्यालो भरिन्छ । पीडाहरू सबै सुखमा अनुवाद हुन्छन्, सम्मिन्छन् । 

गालीगलोज हाम्रो राष्ट्रिय गान हो, प्रत्येक पल नगाई नहुने ! जसले जसलाई जति ताछ्न, खुर्कन, हिलो छ्याप्न सक्छ ऊ वाहीवाहीको भागिदार बन्छ, सफल र सक्षम मानिन्छ । अहिलेसम्मका परिवर्तनको जगको आधार पनि यही हो । राणाशासन खत्तम, प्रजातन्त्र उत्तम, पंचायत मुलुकको अनुकूल, प्रजातन्त्र प्रतिकूल, राजाभित्र देश, जनता र प्रजातन्त्र बाहिर ! राजतन्त्र नर्क, गणतन्त्र स्वर्ग ! आदिआदि । 

राजनीतिक नेतृत्व यसमा यति माहिर छ, विश्वविद्यालय खोल्ने हो भने राम्ररी फस्टाउँछ । सिद्धान्त दामबहादुरहरूले भेटी राखी बजाउने मादल बनेको छ । रामप्रसाद, गिट्टी मैयाहरू ५ वर्षमा एक दिन सार्वभौम सत्ता सम्पन्न नागरिक बन्छन् ।

नेतृत्वका लागि आफ्नो भूमिका ऋषिमुनिभन्दा विदेशी सिसीमुनिहरू प्रिय बनेका छन् । हैसियत, मर्यादा बिर्सेर कर्मचारी सामु लम्पसार पर्छन् र बिन्ति बिसाउँछन्, हजुर, यसो छोराका लागि एउटा छात्रवृत्ति... ! लम्पसारवादको हद, आफ्ना विश्वविद्यालयमा बाँदर छाड्छन्, अनुसन्धान केन्द्र झ्यास थुपार्ने डम्पिङ साइड बनाउँछन् । स्वास्थ्य क्षेत्रको बिजोग उही, ऐरैगैरै नथ्थुराम, नातागोता, रकमकलमभित्र, योग्य सक्षम बाहिर ! 

सरकार विदेशमा युवा जनशक्ति बेच्छ, त्यही आम्दानीबाट पालिन्छ । बजेटका दस्तावेजमा समृद्धि र सम्पन्नताका सपना बेच्छ । समाजवादको रथ चढेर ‘सुखी नेपाली र समृद्ध नेपाल’मा रमाउँछ ।  

कसलाई के भन्ने ? हरेक क्षेत्र निन्दनीय छ, निस्सासिएको छ । बुध, मंगललगायत ग्रहमा रकेट कसरी पठाउने भनी प्रयोगशालामा व्यस्त हुनुपर्ने एउटा युवा अमुक दलको, गुटको, नेताको फन्को मारिरहेछ । अनि, हामी विकास खोजिरहेका छौँ, देश बनेर भनी पीरमा डुबिरहेका छौँ ।

अर्थतन्त्रको कुरै नगरौँ– अर्थमन्त्रीले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली बैङ्क पढ्छ तर गाम्रीण विकास बैंक बुझ्दैन । खुला उदार अर्थनीतिको बिउ रोप्छ, भएका उद्योगधन्दा कवाडीको दाममा जिम्मा लगाउँछ । हुँदाखाँदाको मुलुकलाई लोकतन्त्रको नाममा दलदलमा लगेर जाक्छ । 

ओलाङ्चुङ्गोलाको धनबहादुर र मुगुकी नरमायालाई विनोद चौधरीको आयको भाग लगाई धनी बनाइन्छ अर्थात् नेपालीको सरदर आम्दानीको हिसाबकिताब पढाइन्छ । गज्जबको अर्थशास्त्र, जहाँ सुको–आना आय नहुँदा पनि धनी बन्न पाइन्छ ! हात–मुख जोड्न नपाउनु, हुने र नहुनेबीचको खाडलको त के कुरा भयो र !  

सनकमा जे चढ्छ, जे लाग्छ, आफ्नो वा दलको स्वार्थ जहाँ तालमेल खान्छ, विदेश नीति त्यही हो । अघिल्लो दिन सरकार सीमा नाप्छ, ठीकठाक छ, मिलेकै छ, गडबड छैन भन्छ । भोलिपल्ट– होइन, सीमा स्तम्भ त बाङ्गिएको छ भनी जिम्मेवार दल बोल्छ । पुनः सरकारी समिति बन्छ ।

एकथरि सहयोगको नाममा अलकत्र पनि लिने, अर्कोथरि ती देशको सहयोगमा हरेक पल षड्यन्त्र देख्ने गज्जबको रोगबाट ग्रसित छौँ । शासक, सहशासकहरू प्रश्न मनपराउँदैनन् । यहाँनेर बुझिएन, प्रष्ट गरिपाउँन भन्यो भने अज्ञानी, विकास विरोधी भन्न रुचाउँछन् । गालीगलौज, छेडछाड हाम्रो खेल बनेको छ । स्वस्थ्य बहस, छलफल हाम्रा रुचिकर विषय बन्न सकेका छैनन् । कोसी, गण्डकी, महाकाली, उद्योगधन्दाको निजीकरण हुँदै एमसीसीसम्म आइपुग्दा अविश्वास झ्याङ्गिएको छ । भनिन्छ– अविश्वासको मूल्य महँगो हुन्छ ।

हाम्रो कर्मचारीतन्त्र आफैँमा सक्षम छ । त्यसैले दिवसमा सर्वोकृष्ट कर्मचारी पाइँदैन । केही गर्छु भनेर कोही अघि सर्‍यो भने दशाले घेरेछ भनी बुझ्दा अन्यथा नहोला । विचार प्रक्रियामै अल्झेर जुनी बिताउन वा टुबुलमुनि, बाहिर, परबाट काम गराउन बाध्य हुन्छ । कति सहज छ, कति सरल छ, कार्यालय चाहर्ने, भुक्तमानहरूका भोगाइ नै काफी छन् । 

न्याय र महँगीको हालत उस्तै छ, दुवै विचौलियाको निगाहामा बाँचेका छन् । सर्वोच्चकै प्रतिवेदन काफी छ । न्याय किनबेचको वस्तु बनेपछि महँगो हुनु कुन आश्चर्य भयो र ! एक जुगपछि न्याय नभए पनि फैसलाचाहिँ हुन्छ । कृषिप्रधान देश कुर्सीप्रधान मुलुकमा अनुवाद भएको छ । कागजमा कार्यकर्ता वा नेताले गाईभैँसी बाखा, कुखुरा पाल्छ, दूध, अण्डा बेच्छ । अनुगमनकारी संयन्त्रसँगको सहकार्य र समन्वयमा कृषि क्रान्ति गर्छ, । 

अपवादको हिसाब नगर्दा सरकारी अनुदान र सहयोग सक्कली किसानलाई भाग लाग्दैन अर्थात् विचरालाई कसरी कृषिमा फड्को मार्ने भन्ने सूत्रबारे भेउ नै पाउँदैन । वस्तुभाउ पाल्छ, बजार पाउँदैन र पोख्छ, फाल्छ । 

कसलाई के भन्ने ? हरेक क्षेत्र निन्दनीय छ, निस्सासिएको छ । बुध, मंगललगायत ग्रहमा रकेट कसरी पठाउने भनी प्रयोगशालामा व्यस्त हुनुपर्ने एउटा युवा अमुक दलको, गुटको, नेताको फन्को मारिरहेछ । अनि, हामी विकास खोजिरहेका छौँ, देश बनेर भनी पीरमा डुबिरहेका छौँ । आफ्नो भागमा परेको जिम्मेवारी र दोषको भारी अर्काको काँधमा बोकाउने खेलमा रमाइरहेका छौँ । 

यसको कारण हो– शिक्षामा मेकाल विष हालिएको छ । यसको अर्थ यत्रतत्र सर्वत्र खत्तम मात्र बुद्धि छन्, विवेकीहरूको पूरै खडेरी छ भनेको होइन, जति धानिएको छ, जोगिएको छ, टिकेको छ, त्यसमा हरेक क्षेत्रमा एउटा समूह छ, सकेको, जानेको गरिरहेको छ । फलतः क्षतिको मात्राको गतिमा कमी आएको छ, एक हदसम्म रोकिएको छ । अतः प्रश्न अरूलाई होइन, आफ्नो ठाउँबाट आफैँलाई गरौँ !