कांग्रेस महाधिवेशन: संविधानसभा सदस्यकै क्रियाशील सदस्यता नवीकरण भएन

कांग्रेस महाधिवेशन: संविधानसभा सदस्यकै क्रियाशील सदस्यता नवीकरण भएन

न्युज कारखाना  |  समाचार  |  आश्विन १३, २०७८

कैलाली क्षेत्र नम्बर- ५ बाट २०७० सालमा नेपाली कांग्रेसबाट संविधानसभा सदस्य बनेका पुष्करनाथ ओझाको नाम क्रियाशील सदस्यको सूचीबाट हटेको छ । ओझा क्रियाशील सदस्य रहेको कैलाली- ५ ‘ख’ अन्तर्गत धनगढी- ५ बाट कांग्रेसले ३३३ जना क्रियाशील सदस्यको नामवली सार्वजनिक गरेको छ तर सो सूचीमा अ‍ोझाको नाम भने छैन । 

२०७४ सालमा सम्पन्न आमनिर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै ओझालाई कांग्रेसले कारवाही गरेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा कैलाली- ५ बाट संघीय सांसदका लागि चुनावमा उठेकी थिइन् । उनी एमालेका उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् । 

निर्वाचनमा अन्तरघात गरेको आरोपमा ओझासँगै कारवाहीमा परेका अन्य व्यक्तिको भने क्रियाशील सदस्यता नवीकरण भएको कांग्रेस सचिव पूर्ण कुँवरले बताए । ‘ओझासँगै कारवाहीमा परेका अन्य केही व्यक्तिको क्रियाशील सदस्यता नवीकरण भएर आएको देखिएको छ’, उनले भने,  ‘पुष्करनाथ ओझाको सदस्यता भने नवीकरण भएको छैन ।’