जिप्रका काठमाडौंले दियो यस्तो आदेश

जिप्रका काठमाडौंले दियो यस्तो आदेश

न्युज कारखाना  |  समाचार  |  आश्विन १४, २०७८

जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्वमा भीडभाड नगर्न आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी काठमाडौंबासीका नाममा चाडपर्वकेन्द्रित आदेश जारी गरेका हुन् ।

आदेशमा कोभिड- १९ संक्रमण कायमै रहेकाले चाडपर्वहरू स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रूपमा सकेसम्म घरभित्र परिवारका व्यक्तिहरू मात्र सामेल हुनेगरी मनाउन भनिएको छ ।  अनावश्यक रूपमा मानिसहरू घरबाहिर निस्कने, जम्मा हुने, भीडभाड गर्ने, सभा-जुलुस गर्ने, जात्रा-महोत्सव, भोज आदि नगर्ने/नगराउने भनिएको छ ।  

मास्कको अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, समयसमयमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्न पनि अनुरोध गरिएको छ । सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायतका निकायहरूबाट आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधिहरूमा पनि यो मापदण्ड पालना गर्न भनिएको छ ।

प्रशासनले नजिकिँदै गरेको चाडपर्वको समयमा बढी भीडभाड एवं जोखिमयुक्त क्षेत्रहरू एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधिबाट सर्वसाधारणसचेत रहन अपिल गरेको छ । यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट काटेर यात्रा गर्न र सवारी साधनको छतमा यात्रा नगर्न भनिएको छ ।

क्षमताभन्दा बढी यात्रु नराख्नू

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात संचलाकलाई पनि विभिन्न आदेश गरेको छ, जसमा काठमाडौं उपत्यकाभित्र संचलान हुने सार्वजनिक सवारी साधनहरू स्वीकृत सिट क्षमताअनुसार संचलान गर्न भनिएको छ ।

कुल स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने,  सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, अनिवार्य रूपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नुपर्ने भनिएको छ ।

सार्वजनिक सेवा प्रदायक निकायलगायत बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह गर्दा सामाजिक दूरी कायम हुने र स्वास्थ्यका मापदण्डको पालना हुनेगरी सेवा प्रवाह गर्ने र यथासंभव अनलाइन माध्यमबाट सेवा प्रदान गराउन आदेश गरिएको छ ।

उद्योग, कलकारखाना, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, व्यायामस्थललगायतका स्थान सामाजिक दूरी कायम राखी स्वास्थ्यका मापदण्डको पालना हुने गरी संचालन गर्न पाउने भनिएको छ । संचालन गर्दा कामदार कर्मचारीको समय समयमा एण्टिजेन, र्‍यापिड एण्टिजेन तथा कोभिड- १९ परीक्षण गर्ने/गराउने, आफ्नो व्यवसाय परिसर निसङ्क्रमित (डिसइन्फेक्ट) गर्ने/गराउने भनिएको छ ।

औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कारवाही गरिने पनि आदेशमा चेतावनी दिइएको छ ।