सन्दुकको अर्धशतकमा ललितपुरले दियो भैरहवालाई विशाल लक्ष्य

सन्दुकको अर्धशतकमा ललितपुरले दियो भैरहवालाई विशाल लक्ष्य

न्युज कारखाना  |  खेलकुद  |  आश्विन १४, २०७८

सन्दुक विराक्कोडीको अर्धशतकमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी- ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियर्टलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

बिहीबार कीर्तिपुर टीयु क्रिकेट मैदानमा जारी प्रतियोगिताको १०औँ खेलमा टस हारेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएको हो । 

ललितपुरको उच्च स्कोर बनाउने क्रममा श्रीलंकाका ओपनिङ ब्याटरसमेत रहेका सन्दुक विराक्कोडीले सर्वाधिक ५८ रन बनाए । ४१ बल खेलेका सन्दुकले २ चौका र ५ छक्का प्रहार गरेका थिए ।

यस्तै, अज्मतुल्लाह अमारजाईले ४२ रन बनाए । २२ बल खेल्दै विस्फोटक ब्याटिङ गरेका अज्मतुल्लाहले २ चौका र ४ छक्का प्रहार गरेका थिए । 

ललितपुरका सन्दीप जोराले ३८ रन बनाए । रन आउट हुनुअघि सन्दीपले २५ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै,  ओशाडा फर्नान्डोले २० रन बनाए । ललितपुरका कप्तान कुशल भुर्तेल २ रनमा आउट भएका थिए । 

यता, टस जितेर बलिङ रोजेको शरद भेषवाकरको भैरहवाका लागि अविनाश बोहराले सर्वाधिक २ विकेट लिए ।धम्मिका प्रसाद, कृष्ण कार्की र आशिफ शेषले एक एक विकेट लिए । 

यसअघि एक जीत र एक अंक बाँडेको भैरहवा ललितपुरलाई पराजित गर्दै शीर्षस्थानमा पुग्ने लक्ष्यमा रहेको छ । 

भैरहवाको २ खेलबाट ३ अंक रहेको छ । यता, लगातार २ खेलमा पराजित ललितपुर पहिलो जीतको खोजीमा रहेको छ । 

आज भएको पहिलो खेलमा चितवन टाइगर्सले काठमाडौं किङ्स इलेभनलाई ३ विकेटले पराजित गर्दै शीर्षस्थानमा स्थान बनाएको छ ।