बेलायतले कोभिसिल्डलाई मान्यता नदिएपछि भारतले यसरी लियो बदला

बेलायतले कोभिसिल्डलाई मान्यता नदिएपछि भारतले यसरी लियो बदला

एजेन्सी  |  विदेश  |  आश्विन १७, २०७८

भारतले आफ्नो देश भ्रमण गर्ने सबै बेलायतीले अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । बेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका बेलायतीलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम ल्याएको हो ।

बेलायतले कोभिसिल्डलाई मान्यता नदिएपछि भारतले बेलायतीका लागि नयाँ नियम ल्याउनुपरेको भारतीय विदेश मन्त्रालयका सचिव हरिशवर्धन स्रिंग्लाले बताए । यसअघि स्रिंग्लाले भारतीय खोपमाथि विभेद गरे बदला लिने चेतावनी दिएका थिए । 

नयाँ व्यवस्थाअनुसार भारत भ्रमण गर्ने सम्पूर्ण बेलायतीले पछिल्लो ७२ घन्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ । भारत उत्रिएको  दिन दोस्रो परीक्षण र आठौँ दिन तेस्रो परीक्षण गर्नुपर्नेछ । 

गत साता बेलायतले पूर्ण खोप लगाएका भारतीयलाई बेलायत भ्रमणका क्रममा अनिवार्य क्वारेन्टाइनमा बस्नु नपर्ने जनाएको थियो । तर, अमेरिका, बेलायत र युरोपेली युनियनले अनुमोदन गरेको खोप लगाउनुपर्ने शर्त राखेको थियो ।