कांग्रेस अधिवेशन: काठमाडौंका ७ नगरमा ककसले जिते ? (विवरणसहित)

कांग्रेस अधिवेशन: काठमाडौंका ७ नगरमा ककसले जिते ? (विवरणसहित)

न्युज कारखाना  |  समाचार  |  आश्विन १७, २०७८

नेपाली कांग्रेसको जारी अधिवेशनको काठमाडौंका ७ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । शनिबार अधिवेशन सम्पन्न भएका ७ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको हो ।

अन्तिम परिणाम सार्वजनिक हुनेमा बूढानीलकण्ठ, कागेश्वरी मनोहरा, तारकेश्वर, नागार्जुन, टोखा, शंखरापुर र गोकर्णेश्वर नगरपालिका रहेका छन् । परिणाम सार्वजनिक भएका सबै पालिका मतदानबाट नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ । 

बूढानीलकण्ठमा राजाराम 

कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको नगर सभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन् । सभापति पदका लागि शनिबार भएको निर्वाचनमा बुढाथोकी १५५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाएका छन् ।

यस्तै, उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की विजयी भएका छन् भने सचिवमा विजेन्द्र श्रेष्ठ र विजेन्द्र पुडासैनी विजयी भए । सहसचिवमा कुमार खड्का र निर्मला आचार्य विजयी भएको निर्वाचन समितिले जनाएको छ । विजयी सबै राजारामकै प्यानलका रहेको बताइएको छ । 

कागेश्वरी-मनोहरामा उद्धव दाहाल 

कागेश्वरी-मनोहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन् । सभापति शेरबहादुर देउवा निकट दाहाल १५१ मत पाएर विजयी भएको कांग्रेस काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए । उनका प्रत्यासी नेता प्रकाशमान सिंह निकट मिठ्ठाराम दाहालले १३८ मत पाएका छन् । 

तारकेश्वरमा कृष्णहरि महर्जन 

कांग्रेस तारकेश्वर नगर समिति सभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनमा सभापतिमा १३५ मत प्राप्त गरी महर्जन विजयी भएका हुन् । सभापतिमा ३ जनाको उम्मेदवारी परेको थियो ।

महर्जनका प्रतिस्पर्धी श्रीराम थापाले ११४ मत ल्याए भने अर्का प्रत्यासी मुकुन्द तिमिल्सिनाले जम्मा दुई मत पाए । महर्जन कांग्रेस नेता भीमसेनदास प्रधान निकट भने थापा कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् ।

यस्तै, उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल विजयी भएका छन् । तिमिल्सिनाले १२३ मत र अर्यालले १२५ मत पाए । त्यस्तै, सचिवमा राजु फुयाँल र शंकर तिमिल्सिना विजयी भएका छन् । सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

शंखरापुरमा दीलिपकुमार श्रेष्ठ 

कांग्रेस शंखरापुर नगरपालिकाको सभापतिमा दिलीपकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले सभापतिका लागि भएको मतदानमा खसेको कुल १५७ मतमध्ये ८६ मत प्राप्त गरे । यस्तै, उपसभापति (दुई जना) मिलन खड्का र अमित प्रधान विजयी भएका छन् । सचिवमा पनि दुई जना रनबहादुर तामाङ र स्वयम्भूलाल श्रेष्ठ विजयी भएका छन् । 

टोखामा ओम विमली

नेपाली कांग्रेस टोखा नगर सभापतिमा ओम विमली विजयी भएका छन् । ११७ मत प्राप्त गरी विमली विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दीपक जोशीले १०६ मत प्राप्त गरे । उपसभापतिमा ऋषिराम अर्याल र मनराज अधिकारी, सचिवमा नरेन्द्र बानियाँ र द्वारिका कुइँकेल र सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति श्रेष्ठ निर्वाचित भएका छन् । 

गाेकर्णेश्वरमा कुमार लामा

नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापतिमा कुमार लामा विजयी भएका छन् । लामा १०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी, रामजी श्रेष्ठले ९३ मत प्राप्त गरे । उपसभापतिमा विकास श्रेष्ठ र बच्चु ढुंगेल, सचिवमा जयराम विष्ट र रमेश रिजाल तथा सहसचिवमा अशोक नेपाल र गोकुल सिम्खडा निर्वाचित भएका छन् । 

नागार्जुनमा दुर्गा गौतम 

नागार्जुन नगर सभापतिमा दुर्गा गौतम विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनबाट उनी सभापतिमा विजयी भएका हुन् ।

११ वटा पालिकामध्ये काठमाडौं महानगरमा नेतृत्व चयनका लागि बिहान ९ बजेदेखि मतदान जारी छ । कीर्तिपुर र चन्द्रागिरिमा सहमतिको प्रयास जारी रहेको नेताहरूले बताएका छन् । दक्षिणकालीमा भने वडा नम्बर- २ को वडा अधिवेशन नै सम्पन्न हुन नसकेकाले पालिका अधिवेशन अनिश्चित बनेको छ ।