शेयर बजार निरन्तर ओरालो, लगानीकर्ता निराश

शेयर बजार निरन्तर ओरालो, लगानीकर्ता निराश

न्युज कारखाना  |  कारोबार  |  आश्विन १७, २०७८

शेयर बजार निरन्तर ओरालो यात्रामा लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार पनि शेयर बजारमा करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५५.९३ अंकले घटेर २ हजार ५७.४९ विन्दुमा पुगेको छ । नेप्से २.१२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ११.०७ अंकले घटेर ४८५.९८ विन्दुमा झरेको छ ।

नेप्सेका अनुसार कुल २३२ वटा कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर खरिद-बिक्री हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार सर्वाधिक कारोबार गर्नेमा अपि पावर कम्पनी छ । उक्त कम्पनीको १५ करोड ६ लाख १६ हजार २२१.९० रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

बजारमा देखिएको आर्थिक तरलता र शेयर कर्जामा लागेको सीमा पुनरावलोकन नभएसम्म बजारमा रौनक नआउने लगानीकर्ता बताउँछन् । यस्तै, दशैँ, तिहारमा रेमिटेन्स भित्रिने क्रम बढ्नेछ । सर्वसाधारणले पनि यस बेला बढी खर्च गर्ने भएकाले बजारमा पैसाको आपूर्ति बढ्नेछ । यी परिदृश्यहरूमा फेरि अर्को महिनादेखि ब्याजदर पनि सहज हुँदै जाने विश्लेषणहरू भइरहेका छन् । अहिलेको ब्यादजर वृद्धि अल्पकालीन हुने विश्लेषकहरू बताउँछन् । 

शेयर बजार सधैँ घट्ने वा बढ्ने मात्र गर्दैन । घटबढ बजारको नियम हो । त्यसैले लगानीकर्तालाई निराश नभई घटेको बजार फेरि बढ्छ भन्नेमा विश्वस्त हुन जरुरी भएको शेयर बजार विश्लेषकहरूले आग्रह गरेका छन् । 

आइतबार कारोबार भएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहका सूचकांक राताम्मे भएका छन् । आइतबार सबैभन्दा धेरै फाइनान्स समूहका उपसूचकांकहरू रहेका छन् । फाइनान्स समूहको सूचकांक ४.३३ प्रतिशतले ओरालो लागेको छ । बाँकी सबै समूहको सूचकांकमा एकदेखि ३ प्रतिशतसम्मको गिरावट आएको छ । 

आइतबार मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ९.९७ प्रतिशतले बढेर ३२५ रुपैयाँ ४० पैसा पुगेको छ ।