४ वटा विधेयक विधायन समितिमा पठाउन राष्ट्रियसभाको स्वीकृति, अर्काे बैठक २४ असोजमा

४ वटा विधेयक विधायन समितिमा पठाउन राष्ट्रियसभाको स्वीकृति, अर्काे बैठक २४ असोजमा

न्युज कारखाना  |  समाचार  |  आश्विन १८, २०७८

राष्ट्रियसभाको बैठक २४ असोजमा बस्ने भएको छ । सोमबार बसेको बैठकमा विभिन्न अध्यादेश खारेज र विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए । 

यस्तै, विभिन्न विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरिएको छ । 

राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको, आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । 

यसैगरी महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन पेस गरिएको सोमबारको बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।