फुमिओ किसिदा जापानका नयाँ प्रधानमन्त्री

फुमिओ किसिदा जापानका नयाँ प्रधानमन्त्री

एजेन्सी  |  विदेश  |  आश्विन १८, २०७८

जापानको प्रधानमन्त्रीमा फुमिओ किसिदा निर्वाचित भएका छन् । गत साता सत्तारुढ लिवरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को नेतृत्वसम्बन्धी मतदानमा किसिदा निर्वाचित भएका थिए । पार्टीमा विजयी भएसँगै प्रधानमन्त्रीका लागि उनको बाटो खुलेको थियो । 

प्रधानमन्त्री निर्वाचित भएको एक वर्षपछि यसोहिदे सुगाले हालै पार्टी नेतृत्वबाट राजीनामा दिएका थिए । महामारीपछि जापानको अर्थतन्त्र पुनर्स्थापना र उत्तर कोरियाको धम्कीलगायतका विषय अगामी दिनमा किसिदाका मुख्य चुनौती हुनेछन् । 

टोकियो ओलम्पिक आयोजना गर्ने निर्णयपछि पार्टीको गुमेको साख फिर्ता ल्याउन महत्त्वपूर्ण कार्य गर्ने उनले बताएका छन् । कोभिड महामारीबीच टोकियोमा ओलम्पिक आयोजना गर्ने निर्णयको देशभित्र र बाहिर सरकारको विरोध हुँदै आएको थियो । 

आगामी नोभेम्बरमा हुने आमनिर्वाचनमा किसिदाले एलडीपीलाई विजयी बनाउनुपर्ने पनि उनको अर्को चुनौती छ ।