प्रधानन्यायाधीशले भने: 'मन्त्रिपरिषद्‌मा मैले भाग मागेको छैन, मेरो कुनै भूमिका छैन'

प्रधानन्यायाधीशले भने: 'मन्त्रिपरिषद्‌मा मैले भाग मागेको छैन, मेरो कुनै भूमिका छैन'

न्युज कारखाना  |  समाचार  |  आश्विन १८, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूले मन्त्रिपरिषद्‌मा भाग नमागेको बताएका छन् ।

सर्वोच्च अदालत बार एसोसिएनसका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद् भागबण्डामा आफ्नो कुनै भूमिका नरहेको बताए ।

प्रधानन्यायाधीशले भाग मागेपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको समाचारहरू आएपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज बिहान प्रधानन्यायाधीश जबरालाई भेटेका थिए । भेटमा मन्त्रिपरिषद्‌मा भागबण्डाबारे जिज्ञासा राखेको अध्यक्ष शाक्यले बताए ।

'उहाँले मैले यस्तो काम गरेको छैन । अहिलेसम्म संविधान र न्यायापालिकाको मैले बचाउ नै गरेको हो । यसमा असर पर्ने कामहरू गरेको छैन । मन्त्रिपरिषद्‌मा को राख्ने, को नराख्ने प्रधानमन्त्रीको जिम्मेवारीको कुरा हो । मेरो कुनै भूमिका हुँदैन । मैले केही भनेको पनि छैन', प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै शाक्यले भने ।

आफूहरूले त्यही किसिमको स्टेटमेन्ट आउनुपर्ने सुझाव दिएको शाक्यले बताए । 'औपचारिक वक्तव्य आएपछि हामी थप अगाडि बढ्छौँ', उनले भने ।