यस कारण राखिन्छ अफसोर कम्पनीमा अवैध धन

यस कारण राखिन्छ अफसोर कम्पनीमा अवैध धन

एजेन्सी  |  विदेश  |  आश्विन १८, २०७८

अफसोर कम्पनी गैरकानुनी आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा गोप्य तरिकाले कुनै पनि देशको सिमानाबाहिर स्थापना भएका कम्पनी हुन् । यी कम्पनीले धन र सम्पत्ति राख्ने व्यक्तिको स्वामित्व गोप्य राख्छन् । पान्डोरा पेपर्सको दस्तावेजले देशबाहिर स्थापना भएका यी कम्पनीहरूको एउटा जटिल संजाल खुलासा गरेको छ ।

उदाहरणका लागि कोही व्यक्तिको नेपालमा सम्पत्ति हुन सक्छ । तर, अन्य देश वा अफसोरमा भएका कम्पनीको संजालमार्फत उनीहरूले त्यसको स्वामित्व लिन्छन् । त्यसबापत उनीहरूले कर तिर्नुपर्दैन । 

कम्पनी खडा गर्न झन्झट नहुने तथा कानुनबमोजिम कम्पनीहरूको पहिचान सार्वजनिक नगर्ने देश वा कर नै नलाग्ने वा लागे पनि न्यून लाग्ने देशमा अफसोर कम्पनी खडा गरिएका हुन्छन् । त्यही भएर यी गन्तव्यलाई ‘ट्याक्स हभेन’ भनिएको हो । 

ट्याक्स हेभेन मुलुकको निश्चित सूची छैन । तर, महत्त्वपूर्ण गन्तव्यमा ब्रिटिस ओभरसिज टेरिटोरी, क्याम्यान आइल्यान्ड र ब्रिटिस  भर्जिन आइल्यान्ड, स्विट्जरल्यान्ड र सिंगापुर आकर्षक गन्त्वय हुन् ।