एभरेस्ट प्रिमियर लिग : चितवनको पहिलो हार, भैरहवाको दोस्रो जीत

एभरेस्ट प्रिमियर लिग : चितवनको पहिलो हार, भैरहवाको दोस्रो जीत

न्युज कारखाना  |  खेलकुद  |  आश्विन १८, २०७८

भैरहवा ग्लाडियटर्सले दोस्रो जीत निकाल्दै जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी- ट्वान्टी क्रिकेटमा दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ । 

सोमबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको दिनको पहिलो खेलमा भैरहवाले शीर्ष स्थानको चितवन टाइगर्सलाई  ६ विकेटले पराजित गरेको हो । 

१६४ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा आएको भैरहवाले १७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै १६५ रन बनाएको हो । भैरहवाको जीतमा विकेट किपर तथा ओपनिङ ब्याटर प्रदीप ऐरीले सर्वाधिक ७२ रन बनाए । ४३ बल खेलका ऐरीले ८ चौका ३ छक्का प्रहार गरे । यस्तै, तमिम इक्वालले ४०, उपुल थरङ्गाले ३९ रन बनाए । 

यता, चितवनका लागि करिम जन्नतले सर्वाधिक २ विकेट लिए । यस्तै, सागर ढकाल र भीम सार्कीले समान १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनायो । 

चितवनको लागि करिम जन्नतले सर्वाधिक ३५ रनको योगदान गरे । यस्तै, मोहम्मद सहजादले ३२, सिकुगे प्रशन्नाले २४, भीम सार्की १६, राजेश पुलामी १४ र दिलीप नाथले १३ रन बनाए । 

भैरहवाका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । यस्तै, कुशल मल्लले २ विकेट लिँदा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले समान १-१ विकेट लिए । 

जारी ईपीएलमा चितवन पहिलो पटक पराजित भएको हो । यसका बाबजुद पनि चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ । यस्तै, भैरहवा र पोखरा राइनोज पनि प्लेअफमा पुगिसकेका छन् । 

अब, प्लेअफमा पुग्न एक टोलीको टुंगो लाग्न बाँकी छ । काठमाडौंले बाँकी एक खेल जिते स्वतः प्लेअफ पुग्नेछ । यदि दुवै खेलमा काठमाडौं पराजित भए ललितपुर प्याट्रियट्स प्लेअफमा स्थान बनाउनेछ । 

जारी ईपीएलमा ५ खेल खेलेको चितवनको ८ अंक छ । समान ४ खेलबाट भैरहवाको ६ अंक रहँदा पोखरा राइनोजको ४ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ । 

५ खेलबाट ३ अंक बनाएको ललितपुर चौथो स्थानमा रहँदा ३ खेल खेलेको काठमाडौं २ अंकसहित पाँचौँ तथा ५ खेल खेलको विराटनगर २ अंकसहित तालिकाको पुछारमा छ ।