सरकारविरोधी प्रदर्शन तीब्र पार्दै भारतीय किसान

सरकारविरोधी प्रदर्शन तीब्र पार्दै भारतीय किसान

एजेन्सी  |  विदेश  |  आश्विन १९, २०७८

भारतीय किसानले सरकारविरोधी प्रदर्शन तीब्र पार्ने चेतावनी दिएका छन् । सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा किसानहरूले एक महिनादेखि देशव्यापी प्रदर्शन गरिरहेका छन् । यसै साता उत्तर प्रदेशको लखिमपुर खेर जिल्लामा भएको हिंसापछि किसानहरू थप आन्दोलित बनेका छन् । 

खेरमा किसानको आन्दोलनमा केन्द्रीय मन्त्रीका छोराले जथाभावी गाडी हाँक्दा ४ जना किसानसहित ६ जनाको मृत्यु भएको थियो । गृह राज्यमन्त्री अजय मिश्रका छोराविरुद्ध ज्यान मार्ने कसुरमा अदालतमा मुद्दा चलाइएको छ । मन्त्रीका छोराले प्रदर्शनकारीको नियतवश हत्या गरेको किसानले आरोप लगाउँदै आएका छन् । 

आइतबारको हिंसामा पीडितका परिवारलाई सरकारले ४५ लाख रुपैयाँ क्षतिपूर्ति दिने उत्तर प्रदेश सरकारले घोषणा गरेको छ । सो घटनाबारे उच्चन्यायालयका निवृत्त न्यायाधीशले अनुसन्धान गर्ने जनाइएको छ । 

किसानविरोधी कानुनको विरोधमा निरन्तर आन्दोलन गर्ने किसानहरूले चेतावनी दिएका छन् । 

‘किसानको समस्या उजागर गर्न उत्तर प्रदेश र देशका अन्य भागमा हाम्रो आन्दोलन तीब्र पार्नेछौंँ', भारतीय किसान युनियनका नेता धर्मेन्द मल्लिकले भने, ‘किसानले दश महिनादेखि गरेको आन्दोलनलाई कमजोर पार्ने कोसिस गरिरहेको छ तर हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहनेछ ।’