तालिबानले १३ सर्वसाधारणको हत्या गरेः एमनेस्टी

तालिबानले १३ सर्वसाधारणको हत्या गरेः एमनेस्टी

एजेन्सी  |  विदेश  |  आश्विन १९, २०७८

तालिबानले अफगानिस्तानमा अल्पसंख्यक हजरा समुदायका १३ सर्वसाधारणको हत्या गरेका छन् । मध्य देकुन्दी प्रान्तमा तालिबानले उनीहरूको हत्या गरेको अधिकारवादी समूह एमनेस्टी इन्टरनेसनलले जनाएको छ । मारिनेमा १७ वर्षीया किशोरी पनि छन् ।

३० अगस्टमा करिब ३०० तालिबान लडाकु खिद्र जिल्ला प्रवेश गरी अफगान नेसनल सेक्युरिटी फोर्स (एएनएसएफ)का पूर्वसदस्यको हत्या गरेका थिए । मारिएकामध्ये ९ जनाको शव नदीमा फालिएको थियो । आत्मसमर्पणपछि उनीहरूको हत्या भएको अधिकारवादी समूहले जनाएको छ ।

तालिबानले अफगान सेनालाई आक्रमण गर्ने क्रममा सर्वसाधारणको पनि हत्या गरेको हो । मारिनेमध्ये अधिकांश २४ देखि ४६ वर्षका छन् । सन् १९९६ देखि २००१ मा सत्तामा हुँदा तालिबानले हजरा समुदायका निर्दोष व्यक्तिको हत्या गरेको थियो । 

तालिबानले हजरा समुदायका निर्दोष व्यक्तिलाई हत्या गरेको यो दोस्रो पटक हो । यसअघि काबुल कब्जा गर्नुअघि गत जुनमा गजनी प्रान्तमा तालिवानले ९ जनाको हत्या गरेको थियो । उनीहरू सबै हजरा समुदायका व्यक्ति थिए ।