आक्रामक खेलले नेपाललाई दिलाएको दोस्रो जीत

आक्रामक खेलले नेपाललाई दिलाएको दोस्रो जीत

न्युज कारखाना  |  खेलकुद  |  आश्विन १९, २०७८

दोस्रो प्रतिस्पर्धात्मक खेलमा श्रीलंकालाई पराजित गर्दै नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जीत हात पारेकाे छ । नेपालले फिफा वरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल थप्दा २ गोल बेहोरेको थियो । 

यसअघि नेपालले १३औँ संस्करणको साफ उद्घाटन खेलमा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो । लगातार २ जीतसँगै नेपाल सिंगल राउण्ड रोबिन लिगको शीर्ष स्थानमा छ । ५ वटा देश सम्मिलित लिगमा नेपालले २ खेलबाट सत प्रतिशत जीतसहित ६ अंक बनाएको छ ।

२ खेलबाट ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । एक खेलबाट एक अंक बटुलेको भारत तेस्रो स्थानमा छ । एक खेलबाट बिना कुनै अंक माल्दिभ्स र २ खेलबाट कुनै अंक जोड्न नसकेको श्रीलंका क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । 

नेपाल दोस्रो जीतसँगै फाइनल उन्मुख भएको छ । तालिकाका शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अब नेपाल एक खेल जीतले फाइनल पुग्ने निश्चित छ ।नेपालले तेस्रो खेलमा ७ पटकको साफ बिजेता भारतको सामना गर्नेछ । 

पछिल्लो समय आक्रामक फुटबलमा केन्द्रित नेपाल लगातार दुवै खेलमा सोही रणनीतिमा सफल रह्यो । नेपालका लागि कुबेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले युवा तथा अनुभव मिश्रित नेपाली टोलीलाई आक्रमक फुटबलमा अभ्यस्त बनाउने प्रयास गरिरहेका छन् । धेरै समय विपक्षीको दबाब लिँदै अन्तिममा गोल गर्ने अब्दुल्लाहको रणनीति सफल हुँदै पनि गएको छ । 

पहिलो खेलमा माल्दिभ्सविरुद्ध अब्दुल्लाह सोही रणनीतिमा सफल भए । अनुभवी माल्दिभ्सका खेलाडी सामु युवा खेलाडी उतारेका अब्दुल्लाहले ‘फ्रेस’ मनीष डाँगीलाई मैदान पठाउँदै निर्णायक काउन्टर गोल गराएका थिए । 

दोस्रो खेलमा भने अब्दुल्लाहले सुरुवातबाटै नेपाली टोलीलाई आक्रमणमा जोड दिए । नियमित डिफेण्डर दिनेश राजवंशीलाई बाहिर राख्दै डिफेन्सिभ मिडफिल्डर रोहित चन्दलाई दोहोरो भूमिका दिए । उनले मिडफिल्डर पुजन उपरकोटीलाई रक्षा तथा मिड दुवैमा खेलाए ।

पहिलो खेलमा लेफ्ट विंगरको भूमिका पाएका सुजल श्रेष्ठलाई बाहिर राख्दै विशाल राईलाई होल्डिङ मिडफिल्डरमा मौका दिए । विशाल सुरुवाती ११ रहे पनि नियमित तेज तामाङले अट्याकमा प्रस्ट देखिए ।

सुजलको स्थानमा सुमन लामा आएका थिए । पछिल्लो समय अभ्यास सत्रमा नेपाली अट्याकमा सफल रहेका सुमनले पुनः एक पटक प्रशिक्षक अब्दुल्लाहको रणनीतिलाई न्याय दिए । सुमनले अगाडि बढ्दै खेलको ३१ मिनेटमा नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । सुमनले एक्ला स्ट्राइकर नवयुग श्रेष्ठको पासलाई सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट आकर्षक गोल गरे । देशका लागि यो सुमनको पहिलो गोलसमेत हो । ५ वर्षअघि राष्ट्रिय टोलीबाट डेब्यु गरेका सुमनले आफ्नो १६औँ क्यापमा गोल गरेका हुन् । 

दोस्रो गोलसमेत काउन्टरमा सम्भव भएको थियो । तेज तामाङले दिएको लामो क्रस वैकल्पिक खेलाडी आयुषले कन्ट्राेल गरे । आयुषले बक्सभित्र श्रीलंकाली डिफेण्डरलाई बिट गर्दै नवयुगलाई बल उपलब्ध गराए । नवयुगको प्रहार श्रीलंकाली गोलरक्षक सुजन परेराले पन्च गरे । रिबाउण्ड बललाई अन्जन विष्टले गोललाइनबाट खोली पोस्टमा जाली चुमाए । 

तेस्रो गोलसमेत काउन्टरमै सम्भव भयो । युवा खेलाडी आयुषले पहिलो आधिकारिक गोल गरे । यसअघि बारम्बार गोल गर्न चुकेका आयुष यस पटक भने सफल रहे । उनले गोल रक्षक परेरालाई सिक्स र्‍याड बक्समा बिट गर्दै सहज गोल गरे । यसअघि अष्टेलियाविरुद्ध फिफा विश्वकप छनोटमा डेब्यु गरेका आयुषले कतारमा ओमानविरुद्ध पहिलो गोल गरेका थिए । तर, सो खेल आधिकारिक थिएन । 

एक प्रकारले प्रतियोगिताको दुवै खेलमा नेपाल काउण्टरमा सफल रह्यो । अब, नेपालको लक्ष्य तेस्रो खेलमा भारततर्फ केन्द्रित छ । 

खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले प्रतियोगितामा प्रदर्शनभन्दा पनि नतिजा महत्त्वपूर्ण हुने बताउँदै आगामी खेलमा समेत काउन्टरमै ध्यान हुने योजना सुनाए । ‘प्रदर्शन भन्दा पनि नतिजा महत्त्वपूर्ण हुन्छ । विपक्षीले बल राख्न चाहन्छन् । मलाई अंक चाहिएको छ’, अब्दुल्लाहले भने ।