न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

न्युज कारखाना  |  कारोबार  |  आश्विन १९, २०७८

न्यादी हाइड्रोपावरको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले १५ असोजदेखि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको हो ।

कम्पनीले २२ लाख ५० हजार कित्ता कुल निष्कासनमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।  

उक्त आईपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन पाइने क्यापिटलले जनाएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सोमबार साँझसम्ममा १८ लाख ९३ हजार ९५७ आवेदनबाट २ अर्ब ४० करोड ८९ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ४० लाख ८९ हजार ९४० कित्ताका लागि आवदेन परेको छ ।

कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

यसअघि नै कम्पनीले आयोजना प्रभावित लमजुङका स्थानीयबासीलाई १५ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ । 

हाल चुक्ता पुँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको आईपीओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । हाल न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।