शेयर बजारमा करेक्सन : ४१ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्बमा खुम्चियो

शेयर बजारमा करेक्सन : ४१ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्बमा खुम्चियो

न्युज कारखाना  |  कारोबार  |  आश्विन १९, २०७८

साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा करेक्सन भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार मंगलबार बजार ४१.८४ अंकले बढेको हो । १.६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २ हजार ६१२.६५ अंकमा उक्लिएको छ । शेयर बजारमा  मंगलबार करेक्सन देखिए पनि कारोबार रकम भने निराशाजनक रह्यो । 

मंगलबार २२३ वटा कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँ बराबरको मात्र कारोबार भएको हो । नेप्सेका अनुसार मंगलबार शिखर इन्स्योरेन्सको संस्थापक शेयरको उच्च कारोबार भएको छ । शिखरको १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको संस्थापक शेयर किनबेच भएको हो । 

सबैभन्दा धेरै फाइनान्स समूह ४.१६ प्रतिशत अर्थात् ८६.९८ अंकले बढेको छ । मंगलबार बजार बढेको दिनमा ट्रेडिङ समूह मात्र ओरालो लागेको छ । ट्रेडिङ समूह ५६.०५ अंकले घटेको हो । बाँकी सबै समूहमा हरियाली छाएको छ ।

बजारमा करेक्सन आएको दिन मंगलबार विभिन्न ७ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । मल्टिप्रप्रोज फाइनान्स, समता घरेलु लघुवित्त र हिमालय पावरको शेयर मूल्य १०/१० प्रतिशतले बढेको हो ।

त्यसैगरी मैलुङ खोला जलविद्युत् ९.९७, सिभिल लघुवित्त ९.०४, छ्याङ्दी हाइड्रोपावर ९.८९ र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य ९.८४ प्रतिशतले बढेको हो । 

त्यसैगरी एनआईसी एसिया लघुवित्त १० प्रतिशत, रिलायन्स लाइफ ३.३२ प्रतिशत र माउन्टेन इनर्जीको शेयर मूल्य ३.३० प्रतिशतले घटेको हो ।