लुम्बिनीको बजेट भोलि ल्याइँदै

लुम्बिनीको बजेट भोलि ल्याइँदै

न्युज कारखाना  |  समाचार  |  आश्विन १९, २०७८

प्रतिस्थापन विधेयकमार्फत लुम्बिनी प्रदेश सरकारले बुधबार नयाँ बजेट ल्याउने भएको छ । बुधबार बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट पेस गर्नेछन् ।

नेकपा एमाले नेता शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । प्रतिपक्षी दलहरूको असहयोगका कारण बजेट पारित हुन नसकेपछि तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

तर, २८ साउनमा नेकपा (माओवादी केन्द्र)का कुलप्रसाद केसी नेतृत्वमा कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजय शाहीसमेतको गठबन्धन सरकार बनेपछि बजेट कार्यान्वयन हुन सकेको थिएन । नयाँ सरकार गठन भएको २ महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन र नयाँ बजेट ल्याउन नसकेपछि सरकारको चर्को आलोचना हुँदै आएको छ ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्काका अनुसार अध्यादेशबाट ल्याइएको बजेटलाई संशोधन गरेर केही नयाँ कार्यक्रम थप गरी बजेट ल्याउन लागिएको हो । ‘अघिल्लो सरकारले ल्याएको बजेटमा धेरै विषययमा असहमति रहेकाले भोलि बस्ने प्रदेशसभा बैठकमा बजेट पेस गर्ने तयारी गरेका छौँ’, उनले भने । अबको बजेट नयाँ योजना र कार्यक्रमसहित आउने खड्काले जानकारी दिए ।

प्रतिस्थापन विधेयकमार्फत ल्याउन लागिएको बजेटमा लुम्बिनी प्रदेश बैंक स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि बहुसांस्कृतिक डबली निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापनालगायतका नयाँ कार्यक्रम समेटिनेछन् ।

यसअघिको बजेटमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन भएको थियो । बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटनमा केन्द्रित थियो ।

प्रदेशसभाको प्रमुख विपक्षी दल एमालेले भने बैठक अवरुद्ध गर्ने बताएको छ । एमालेले स्वतन्त्र सांसद अजय शाही र गत १९ वैशाखमा माओवादी केन्द्र रोजिसकेकी विमला खत्री वलीलाई आफ्ना सांसद दाबी गर्दै उनीहरूलाई पदमुक्त गर्नुपर्ने मागसहित प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।