ईपीएल क्रिकेट : शानदार जीतसँगै चितवन पहिलो पटक फाइनलमा

ईपीएल क्रिकेट : शानदार जीतसँगै चितवन पहिलो पटक फाइनलमा

न्युज कारखाना  |  खेलकुद  |  आश्विन २०, २०७८

सहज जीतसहित चितवन टाइगर्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी- ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा चितवनले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो ।

सुरुवाती ४ खेलमा जीत निकाल्दै पहिलो चरणबाट शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुगेको चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो ।  

दोस्रो संस्करणमा स्थापित चितवनले यसअघिका २ सिजनमा प्लेअफ यात्रा तय गर्न सकेको थिएन । यद्यपि, यो सिजनमा भने चितवनले अपराजित रहँदै प्लेअफमा स्थान बनाएको थियो भने पाँचौँ खेलमा पराजित भएको थियो ।

आज भएको क्वालिफायरमा शानदार जीत दिलाउन चितवनका लागि ओपनर मोहम्मद शहजाद र कासिम अनसारीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरे । २६ बलको सामना गरेका शहजादले ७ चौका र २ छक्कासमेत प्रहार गरेका थिए । यस्तै, आसिम अनसारी १४ र करिम जनत ४ रनमा अविजित रहे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर चितवन सामु ६६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्दै पोखराले सम्हालिएको सुरुवात गरेको थियो । ४.६ ओभरमा ओपनर रिचार्ड लेभीलाई गुमाएको पोखराले ४१ रनमा अर्का ओपनर सुनिल धमलालाई गुमाएको थियो । त्यसपछि ३ रन जोड्दा ४ विकेट गुमाएको पोखराका लागि अन्य ब्याटरले १० को आँकडा पार गर्नै मुस्किल परेको थियो । 

कप्तान तथा विकेटकिपर ब्याटर विनोद भणडारी गोल्डेन डक हुँदा असेल गुणारत्ने १ रनमा पेभेलियन फर्के । यस्तै, सहान अराचिगे ३ रनमा आउट हुँदा विवेक यादव २, लोकेश बम ५ र नन्दन यादव शून्य रनमा सीमित भए । यस्तै, सुशन भारी १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो रनमा अविजित रहे ।  

कसिलो बलिङ गरेको चितवनका लागि सागर ढकालले ४ ओभरमा १४ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै, साहब आलमले पनि ४ ओभरमा ९ रन खर्चेर ४ विकेट चट्काए ।

पोखरालाई ६५ रनमा सीमित गरेसँगै चितवनले फाइनल पुग्नका लागि ६६ रनको लक्ष्य पाएको छ । 

पराजित पोखराले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ । आज नै एलिमिनेटरमा काठमाडौं किङ्स- ११ र भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुनेछ । यस खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौथो स्थानमा रहँदै एलिमिनेटर खेल्न लागेका हुन् ।

प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ ।