सन्दर्भ दशैँ : कथा मधु-कैटभको, दैवी तथा आसुरी प्रवृत्ति चाहिँ हाम्रो !

सन्दर्भ दशैँ : कथा मधु-कैटभको, दैवी तथा आसुरी  प्रवृत्ति चाहिँ हाम्रो !

रूपक अलङ्कार  |  दृष्टिकोण  |  आश्विन २०, २०७८

हाम्रो समाजलाई यतिबेला दशैँले छपक्कै ढाकिसकेको छ । दशैँलाई कसरी सुखमय र मंगलमय बनाउने भनेर नेपाली नागरिकहरू आफ्नो आफ्नो योजनामा लागिसकेका छन् । शुभकामनाको वर्षा हुन थालेको छ । बजार अचम्मैसित तातेको छ ।

कोरोनाको संभावित आक्रमणलाई बेवास्ता गरेर मानिसहरू जुर्मुराएका छन् । वर्षभरिको कामको थकाइलाई आफ्ना परिवारसित बसेर मीठो-मसिनो खाएर मेटाउने सुरसारमा नेपाली समाज लागेको छ । शहरको निस्सासिँदो जंगलबाट निस्केर कहिले गाउँमा पुगौँला अनि सयपत्री र धानको बासनाले फोक्सो पखालौँला भनेर मान्छेहरू औँला भाँच्न थालेका छन् । कति मान्छे भने दशैँसित जोडिएका स्मृतिहरूमा ‘नोस्टाल्जिक’ हुँदै छन् । दशैँसम्बन्धी हाम्रो जीवनका तरंगहरू यस्तैयस्तै हुन् ।

दशैँ हाम्रो सांस्कृतिक पर्व त हुँदै हो, यसमा धार्मिक गतिविधिको लेप पनि लागेको छ । घटस्थापना गरी देवी भगवतीको उपासना गर्नु, नवरात्रभरि दुर्गाका अनेक स्वरूप र शक्तिको उपासना गर्नु, विभिन्न शक्तिपीठहरूमा पूजा आराधना गर्नु, देवीलाई बलि समर्पण गर्नु, भगवतीको प्रसाद स्वरूप टीका-जमरा लगाउनु जस्ता क्रियाकलापहरू धार्मिक विशेषताले युक्त छन् । 

अझ अर्को र महत्त्वपूर्ण पक्ष भनेको दुर्गासप्तशती पाठ हो । देवी दुर्गाले असुरहरूबाट देवताको रक्षा गर्नका लागि गरेको संघर्ष र देवताहरूले गरेको देवीको स्तुतिले सप्तशती पुस्तक भरिभराउ छ । नेपाली समाजमा यो पुस्तक चण्डीका नाउँले चर्चित छ ।

दशैँको पूर्वसन्ध्यामा दैवी र दानवी शक्तिका विषयमा चर्चा हुनु स्वाभाविक हो । दशैँमा देवासुर संग्रामको कथा पढ्ने र सुन्ने हाम्रो परंपरा हो । दैवी तथा आसुरी प्रवृत्ति हामी मानिसभित्रै छ । कुन शक्तिलाई कसरी जगाउने, त्यसका लागि कस्तो साधना गर्ने भन्ने विषयको अनुक्रिया दशैँ हो ।

यसै चण्डी किताबको प्रथम अध्यायमा एउटा पंक्ति छ- विष्णुकर्णमलोद्भूतौ विख्यातौ मधुकैटभौ । अर्थात् विष्णुको कानेगुजीबाट उत्पन्न भएका २ राक्षस मधु-कैटभ नामले विख्यात भए । मधु-कैटभ राक्षसको कथा पुराणहरूको चर्चित कथा भएकाले यसमा धेरै चर्चा गरिरहनु आवश्यक छैन । चर्चा गर्न खोजिएको कुरा त अहिले मधु-कैटभ छन् कि छैनन् ? भन्ने हो ।

शाब्दिक हिसाबमा मधु भनेको मह हो र कैटभ भनेको किरा (कीटवत् भाँती किरा जस्तै देखिन्छ जो) हो । मह भनेपछि मान्छे हुरुक्कै हुन्छ । खान्छ । चाट्छ । अझ झिँगाहरू त महमै डुबेर मर्छन् । अब किरादेखि त हामी टाढै हुन चाहान्छौँ । चाहे कोरोनाको किरा होस् वा झुसिल्किरा होस् । किरा हाम्रा लागि त्रास हो । यसरी मधुले आफूतिर तान्ने र किरालाई पर धकेल्ने गर्दा रहेछन् भन्ने पुष्टि हुन्छ । कसैलाई काखा गर्ने र कसैलाई पाखा गर्ने हामीभित्रको व्यवहार नै वास्तवमा मधु-कैटभ हुन् । हामी मधु-कैटभकै अंश हौँ ।

त्यसैले दार्शनिकहरू मधु-कैटभलाई राग र द्वेषका रूपमा बुझ्न चाहन्छन् । राग र द्वेष मानवीय संवेदना हुन् । यो जगत् प्रपञ्च राग-द्वेषकै अभिनय हो । राग-द्वेषरहित मान्छे नै मोक्षको अधिकारी हुन्छ । रागद्वेष अर्थात् मधु-कैटभको मात्रा जतिजति बढ्दै जान्छ, त्यतित्यति अनर्थ र उत्पात बढ्दै जान्छ । 

दुवै प्रलयङ्कारी र उत्पातकारी भएका कारण यिनलाई राक्षस भनिएको हो । राग बढी हुँदा विश्वामित्र मेनकामा हराउँछन् । शान्तनु आफ्ना छोरा गंगामा बगेको टुलुटुलु हेरिरहन्छन् । धृतराष्ट्रलाई दुर्योधनले भनेको र गरेको मात्र ठिक लाग्छ । देवासुर संग्राम, महाभारत द्वेषका उदाहरण हुन् ।

राग भनेको कसैप्रतिको आकर्षण वा अनुराग वा प्रेम हो । कुनै व्यक्ति वा वस्तुप्रतिको अत्यधिक चाहना राग हो । कसैप्रतिको घृणा, झगडा, मनमुटाव वा बेमेलचाहिँ द्वेष हो । हामी यी दुवै राक्षसलाई काँध हालेर हिँड्छौँ । स्वार्थअनुकूल हुनेगरी रागी र द्वेषी बन्छौँ । राग वा द्वेषको असर देखिनेबित्तिकै हामी मानवबाट दानव भइहाल्छौँ ।

कतिपयले रागलाई सही र द्वेषलाई गलत भन्ने ठान्लान्, त्यसो बन्नु मधुचाहिँ ठिक कैटभचाहिँ बेठिक भन्नु जस्तै हो । किनभने यी दुवै विष्णुका कानेगुजी हुन् । भगवान्कै भए पनि खराब चिज त खराब नै हो नि !

व्यक्तिगत तवरमा मात्र नभएर हाम्रो सामाजिक, राजनीतिक तथा राष्ट्रिय चरित्रमा नै मधु-कैटभ हाबी भएको पाइन्छ । कहिले हामीमा मधु चढ्छ कहिले कैटभ । वल्लाघरेसित मधु हुँदा पल्लाघरेसित कैटभ भइन्छ । चीनसित मधु हुँदा भारतसित कैटभ भइन्छ । अहिले पनि अमेरिकासितको सम्बन्धमा नेपालीहरू मधु-कैटभ भएका छन् । हरेक विषमया आफ्नो अनुकूलतामा मधु र कैटभ बन्ने क्षमता हामी सबैसित छ ।

अझ हाम्रा नेताहरू त मधु-कैटभका अवतार नै लाग्छन् मलाई । राग-द्वेषरूपी लेदो भरिएको ट्यांकी हुन् यिनीहरू । कसैसित टाँसिनुपर्‍यो भने सुपर ग्लुलाई हराउँछन्, कसैसित भाँडिनुपर्‍यो भने पनि चुम्बकको उत्तरी र दक्षिणी ध्रुव बनिहाल्छन् । 

माओवादी एमाले एकीकरणताका नेताहरूमा मधु सवार भएको थियो । यिनीहरू पनि कहिल्यै अलग थिए र ? भन्ने लाग्थ्यो । जब विखण्डन सुरु भयो, यिनमा कैटभ चढ्यो । यसरी चढ्यो पार्टीको माथिदेखि तलसम्मै चढ्यो । आफ्ना गुटका मधु र अर्को गुटका कैटभ । पार्टीहरू एकआपसमा मधु-कैटभ नै हुन् । नेता मधु-कैटभ भएपछि कार्यकर्ता पनि मधु-कैटभ हुने भए नै ।

दशैँको पूर्वसन्ध्यामा दैवी र दानवी शक्तिका विषयमा चर्चा हुनु स्वाभाविक हो । दशैँमा देवासुर संग्रामको कथा पढ्ने र सुन्ने हाम्रो परंपरा हो । दैवी तथा आसुरी प्रवृत्ति हामी मानिसभित्रै छ । कुन शक्तिलाई कसरी जगाउने, त्यसका लागि कस्तो साधना गर्ने भन्ने विषयको अनुक्रिया दशैँ हो । दशैँ मधु-कैटभ जस्ता आसुरी वृत्तिबाट मुक्तिको अभ्यास गर्ने पर्व हो । हामीभित्रका राग-द्वेषरूपी मधु-कैटभलाई हराउन सकौँ, दशैँको सबैलाई शुभकामना ।