रहेनन् रामायणका ‘रावण’ अरविन्द

रहेनन् रामायणका ‘रावण’ अरविन्द

एजेन्सी  |  लोकरञ्जन  |  आश्विन २०, २०७८

लोकप्रिय धार्मिक सिरियल ‘रामायण’मा लंकापति रावणको भूमिका निर्वाह गरेर चर्चामा आएका अभिनेता अरविन्द त्रिवेदीको मंगलबार राति १० बजे निधन भएको छ । ८३ वर्षीय त्रिवेदीको हृदयाघातका कारण निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । 

त्रिवेदीको निधनमा ‘रामायण’मा सँगै अभिनय गरेका अरुण गोविल, सुनिल लहरी, दीपिका चिखलियालगायका कलाकार, शुभचिन्तक तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सामाजिक संजालमार्फत दुःख व्यक्त गरेका छन् । 

उनले त्रिवेदीसँगको फोटोसहित गरेको पोस्टमा लेखेका छन्, ‘हामीले असाधारण अभिनेता अरविन्द त्रिवेदीलाई गुमाएका छौँ । उनी अभिनेता मात्र होइन, जनसेवक पनि थिए । ‘रामायण’ टेलिशृंखलामा उनले गरेको काम भारतको आउने पिँढीले पनि याद गर्नेछ । अभिनेता त्रिवेदीको परिवार तथा शुभचिन्तकप्रति हार्दिक समवेदना ।’ 

रामानन्द सागरको ‘रामायण’मा अरुण गोविलले राम, सुनिल लहरीले लक्ष्मण र दीपिका चिखलियाले सीताको भूमिका निर्वाह गरेका थिए । कुनै दीर्घरोग नदेखिए पनि उनको स्वास्थ्य विगत ३ दिनदेखि धेरै बिग्रिएको जानकारी त्रिवेदी परिवारले दिएको छ । हृदयाघात भएपछि उनका अन्य अंगहरूले काम गर्न छाडेका थिए । उनले हिन्दी र गुजराती गरी ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।