बुद्धभूमिको आईपीओ शुक्रबार बाँडफाँट गरिने

बुद्धभूमिको आईपीओ शुक्रबार बाँडफाँट गरिने

न्युज कारखाना  |  कारोबार  |  आश्विन २०, २०७८

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार यसको प्रि-अलोटमेन्ट बुधबार सम्पन्न भएपछि शुक्रबार साधारण शेयर बाँडफाँट गरिने तय भएको हो ।

बुद्धभूमिले ११ असोजदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

बुद्धभूमिको आईपीओमा २१ लाख ४२ हजार जना आवेदकबाट २ करोड ६९ लाख २० हजार १२० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन माग गरिएको भन्दा ३६.१८ गुणा बढी हो ।  

रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आईपीओलाई ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले औसतभन्दा कम जोखिम बेहोर्न सक्ने कम्पनी भएको जनाउँछ । बुद्धभूमिले नुवाकोट जिल्लामा ४.९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।