शेयर बजारमा ६८ अंकको सुधार

शेयर बजारमा ६८ अंकको सुधार

न्युज कारखाना  |  कारोबार  |  आश्विन २०, २०७८

साताको चौथो कारोबारकाे दिन बुधबार शेयर बजारमा चमक देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ६८.४७ अंकले बढेर २ हजार ६८१.१० मा पुगेको छ । नेप्से २.६२ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक १२.७२ अंकले बढेर ५०४.७३ मा पुगेको छ ।

बुधबार कुल २२७ वटा कम्पनीको ८१ लाख ८९ हजार ८९० कित्ता शेयर खरिद-बिक्री हुँदा ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन मंगलबार २ अर्ब रुपैयाँ मात्र कारोबार भएकामा बुधबार बढेको छ । सोमबार ३ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै, बुधबार सिटिजन्स बैंकको सर्वाधिक कारोबार भएको छ । यस बैंकको २३ करोड ४ लाख रुपैयाँको कारोबार भएको हो । नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार भएका १३ वटै उपसमूह उकालो लागेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह र लघुवित्त समूह बढेको छ । बुधबार सर्वाधिक कारोबार हुने र सर्वाधिक नाफा कमाउने दुवैमा लघुवित्त अगाडि छन् ।

बुधबार १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अधिकांश लघुवित्तहरू छन् । बुधबार शेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीहरूमा बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामीण विकास, नयाँ सारथीलगायत रहेका छन् । त्यसैगरी बुधबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।