अमेरिका र चीनका राष्ट्रपतिबीच वार्ता हुने, ताइवान मुख्य चासो

अमेरिका र चीनका राष्ट्रपतिबीच वार्ता हुने, ताइवान मुख्य चासो

एजेन्सी  |  विदेश  |  आश्विन २१, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुने भएको छ । २ देशका नेताबीच यसै वर्षको अन्त्यमा भर्चुअल बैठक हुने अमेरिकाले जनाएको छ । ताइवानबारे २ देशबीच तनाव बढिरहेकै बेला बाइडेन र सीबीच वार्ता हुन लागेको हो । 

भर्चुअल बैठक बस्ने विषयमा २ देशका नेताबीच सहमति बनेको ह्वाइटहाउसका अधिकारीले बताएका छन् । 

राष्ट्रपति बाइडेनले ताइवानका विषयमा आफूले राष्ट्रपति सीसँग छलफल गरेको बताइसकेका छन् । हालै मात्र ताइवानको सुरक्षा क्षेत्रमा चिनियाँ सेनाको दर्जनौँ विमान उडेका थिए । 

'ताइवानवारे मैले राष्ट्रपति सीसँग छलफल गरेको छु’, बाइडेनले भने, ‘हामी ताइवान सम्झौताप्रति प्रतिबद्ध छौँ  ।’ 

ताइवानले आफ्नो सुरक्षा क्षेत्रमा १५० चिनियाँ जहाजले ताइवानी हवाई क्षेत्रको अतिक्रमण गरेकोे बताउँदै आएको छ । ताइवानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा ती जहाज उडाइएका थिए । ताइवानलाई बेइजिङले छुट्टिएर बसेको आफ्नै प्रान्त मान्छ । तर, ताइवानले आफूलाई सार्वभौम राष्ट्र ठान्छ । 

ताइवानको सुरक्षा क्षेत्रमा चीनको अतिक्रमणको अमेरिकाले विरोध गरेको छ ।