करिश्मा कपुर भन्छिन्: ऐना नै समीक्षक र दर्शक

करिश्मा कपुर भन्छिन्: ऐना नै समीक्षक र दर्शक

एजेन्सी  |  लोकरञ्जन  |  आश्विन २१, २०७८

करिश्मा कपुर स्थापित बलिउड अभिनेत्री हुन् । राज कपुरकी नातिनी तथा रणधीर कपुरकी छोरी करिश्माले आफूले पनि अन्य कलाकारले झैँ संघर्ष गरेर बलिउडमा स्थापित भएको बताएकी छन् ।

एक टेलिभिजन शोमा आफ्नो पिता रणधीरसँग पुगेकी करिश्माले आफूले आफ्ना अग्रजबाटै मिहिनेत गर्न सिकेको बताइन् । 'मलाई अभिनयमा आउन सहज भयो, यद्यपि, दर्शकको मन जित्न मैले पनि उत्तिकै मिहिनेत गरेकी छु', उनले डेब्यु समयको अनुभव साटिन् । 

आफू एक्लै रोड क्रस गर्नसमेत डराउने हुँदा पनि अभिनयको नशा रगतमै रहेको बताइन् । 'म एक्लै बसेर अभिनय गर्ने कोसिस गर्थें । ऐनालाई मेरो गुरु वा समीक्षक भन्न सकिन्छ किनकि त्यहाँ हेरेर धेरै कुरा सिकेकी छुँ', उनले भनिन् । उनका पिता रणधीरले पनि आफ्नो हजुरबुबा र बुबामार्फत सिकेको सिकाइलाई करिश्मा र करिनासम्म पुर्‍याउने कोसिस गरेको बताए । 

करिश्मा पछिल्लो समय अभिनयमा सक्रिय छैनन् । यद्यपि, उनी बेलाबखतमा रियालिटी शोमा देखिने गर्छिन् ।