दसैँ : नयाँ र पुराना पुस्ता जोड्ने मौलिक संस्कृतिको बेजोड सङ्गम

दसैँ : नयाँ र पुराना पुस्ता जोड्ने मौलिक संस्कृतिको बेजोड सङ्गम

टङ्क भट्टराई  |  दृष्टिकोण  |  आश्विन २२, २०७८

चाडपर्व बिनाको जीवन कति निरस हुँदो हो । कति नमीठो हुँदो हो । मान्नै पर्छ हाम्रा पुर्खाहरुलाई जसले जीवनलाई यति रसिलो, रमाइलो र आनन्दले भरिपूर्ण बनाइदिए । रीतिथिति, परम्परा र पर्वहरुले सिंगारिदिए । जीवनलाई प्रकृतिसँग जोडेर मानव र प्रकृतिको अभिन्न सम्बन्ध स्थापित गरिदिए । 

हाम्रा पुर्खाले आविष्कार गरेका परम्परा, संस्कार र संस्कृतिहरु साँच्चै नै जीवनसम्मत, विज्ञानसम्मत र प्रकृतिसँग अन्योन्याश्रित छन् । बरु, समयको विभिन्न कालखण्डमा शासन, धर्म र जातका ठेकेदारहरुले आफ्नो अनुकूल हुने गरी यिनमा अनेकथरी ईश्वरीय बिम्ब र कहानी जोडेर संस्कृतिलाई साँघुरो बनाउन खोजे । यसले गर्दा मानवले मानी आएका परम्पराहरु माथि समाजमा बेला–बेला प्रश्नहरु खडा हुँदै गए पनि जीवन, जगत, ज्ञान, विज्ञान र सत्यको आलोकमा यी प्रश्नहरुको निरुपण जनस्तरबाटै हुँदै गयो । फलतः यी चाडपर्वहरु व्यक्ति, समाज र राष्ट्रको लागि झनै अपरिहार्य र अविच्छिन्न हुँदै गए । 

 सन्दर्भ दसैंको हो ।

लोक जीवनमा कृषि कर्म गरेर आफू बाँचेका र अरुलाई बँचाइरहेका भूमिपुत्र/पुत्रीहरुलाई केही समय हर्ष, उल्लास, आनन्द र मनोरञ्जन प्रदान गर्दै जीवनको लागि अजश्र ऊर्जा र शक्तिको कामना गर्ने उपयुक्त ऋतुमा आउँछ यो दसैं । न जाडो, न गर्मी । न हिलो, न धूलो । त्यसै–त्यसै हराभरा प्रकृति । बादल फाटेको नीलो आकाश । रातमा जूनले नुहाएका र दिउँसो घामले ओभाएका लोभ लाग्दा वन चहुर र डाँडाकाँडाहरु । बर्खामासको अविरल झरीले रौद्र रुप धारण गरेका नदी–नालाहरु फेरि शान्त भएर बग्न थालेका । माथि कतै निर्जन लहरा–पहराबाट हाम फाल्दै सङ्लो र कञ्चन भएर सुमधुर सङ्गीतको लयमा उँधोतिर झरेका ।

वर्षाको पानीले रङ पखालेर फुङ्ग उडेका घरहरु रातो माटो र सेतो कमेरोले चटक्क सिंगारिएका । खेतमा शस्य–श्यामला धानका बालाहरु हावासँग सुस्तरी बयली खेल्दै बिस्तारै पोटाउन लागेका । बारीमा कोदाका बोटहरु हलक्कै बढेर फूल खेल्न थालेका । बोडीका लहराहरु सर्पझैं तन्किएर गरादेखि कान्लासम्म फिँजारिएका। आँगनका डिलहुँदि तिहारलाई भनी रोपेका सयपत्रीका बोटहरु कोपिलिंदै गरेका । 

शरद्को नीलो र कञ्चन आकाश । घाम त्यस्तै घमाइला । जून उस्तै रमाइला । आकाशको टहटह जून धर्तीमा पोखिंदाको त्यो अनुपम सौन्दर्य जति हेरे पनि नअघाइने । केरा र अरु रुख–विरुवाका पातहरुमा टल्किंदै घरका झ्याल ढोकाहरुबाट सुस्तरी चियाएको त्यो जूनसँग जति लुकामारी खेले पनि धित नमर्ने । राति पनि घरै उज्यालो, वनै उज्यालो र मनै उज्यालो ।

बारीका डिल र चौरहरुमा उभिएर लट्टाईबाट धागो छोड्दै माथि–माथि आकाशमा चङ्गा उडाउँदाको मज्जा त झन् बेग्लै । हामी को भन्दा को कम भन्दै आकाशमा चङ्गा उडाउँथ्यौं । चङ्गा र चराहरु हावामा कावा खाँदै सँगसँगै उड्थे । चरा आफ्नो खुसीले स्वतन्त्र भएर मन लागे ठाउँमा उड्थे भने चङ्गा चाहिं निर्जीव र नियन्त्रित । लट्टाई समाउने हातको इशारामा जता चा≈यो उतै उडिदिनु पर्ने । कति चङ्गाहरु त एक आपसमा जुधेर आकाशमै चुँडिन्थे र फनफन गर्दै झरेर टाढाका रुखहरुमा अड्किन्थे ।

अहिले त गाउँमा मिलहरु छन् । घरमा अन्न पिंध्नु कुट्नु पर्दैन । ढिकी र जाँतोहरु त्यसै थन्किएका छन्। निदाएका छन् । नत्र, पहिला–पहिला जाँतोको घ्वार–घ्वार लयसँगै रातैभरि शिलोकहरु घन्काउँथे आमाहरु । ती शिलोकमा जीवनका भुक्तमानहरु, कथा र व्यथाहरु जाँतोमा हालेको ओइरोसँगै पिसिएर मनको भित्तोबाट बुरुरुर्र बाहिर निस्कन्थे । गाउँभरि ढिक्कीमा धान र चिउरा कुट्दाको ‘ढिक्कीच्याउँ–ढिक्कीच्याउँ’ आवाजले पूरै गाउँ सङ्गीतमय हुन्थ्यो ।

गाउँघरमा प्रसस्तै असुराका बोटहरु हुन्थे । लाल, मर्चे, झप्री,, धुस्रे र जहाजी केराका घरीहरु घर–घरमा पाक्न ठिक्क परेका देखिन्थे । भुईंतिर लरक्कै निहुरेका केराका घरीहरु बोझ थाम्न नसकेर लड्छन् कि भनेर मोटो बाँसको टेको लगाइएको हुन्थ्यो । कति केराका घरीहरु त पहेंलै भएर बोटमै पाकिसकेका पनि हुन्थे । ‘पाकेका केरा देख्ता आँखा फुट्छन्’ भनेर मान्छे नभएको मौका पारी कतिले त बाँसको टेकोको सहायताले चुँडेर पनि खाइदिन्थे । काँचो केराका काइँयामा असुरा र धुर्सुलका पात घुसारेर माटाको ठूलो गाग्रो या घ्याम्पामा राखी पकाउँदा गाउँभरि चलेको मगमग बासनाको त बयान गरी साध्यै छैन ।

घर–घरमा घटस्थापना गरेपछि नौरथाभरि चण्डी पाठसँगै शङ्ख र घण्टको आवाजले गाउँ गुञ्जायमान हुन्थ्यो । यसो गर्नको लागि कहीं–कहीं सामूहिक रुपमा छुट्टै देवीघर अर्थात् दसैघर बनाइएको हुन्थ्यो । फूलपातीको दिन विधि–विधान सहित देवीघरमा फूलपाती भित्रायाएपछि त्यहींबाट घर–घरमा फूलपाती लिएर जान्थे गाउँलेहरु । अष्टमीको दिन राति कालरात्री गरेर देवीघरमा देवीलाई बोकाको बली चढाइन्थ्यो । मालसिरी गाउन जान्ने बुढाहरु नवरात्रभरि ‘जय देवी भैरवी दुर्गे भुवानी⁄’ भन्दै भाका हालेर देवीको स्तुति गर्थे ।

ऊ बेला दसैं मान्न गाउँका साहु महाजनबाट काढेको ऋण तिर्न नसकेर दसैं तिहारपछि लगत्तै ढाकर बोकेर मुग्लान पस्थे गरिब गुरुवाहरु । कोही उतै भासिन्थे भने कोही अलि–अलि पैसाको जोहो गरेर फर्किन्थे । अहिले ऋण तिर्नको लागि भारतै पस्न पर्दैन । पैसा कमाउने थुप्रै अवसर देशभित्रै पनि उपलब्ध छन् ।


कतै अष्टमी र कतै नवमीको दिन घर–घरमा खसी काट्दाको मज्जा त अर्कै । फलानोको खसी यति धार्नी। ढिस्कानाको यति धार्नी भनेर गाउँभरि चर्चा हुन्थ्यो । धेरै बोसो भाको बलियो खसीलाई राम्रो मानिन्थ्यो । गाउँमा हामी केटाकेटीका लागि दसैंको रौनक भनेकै राम्रो लाउने र मीठो खाने हो । मीठो पनि विशेष गरी मासु–भात । ढिक्कीमा कुटेका बासनादार चिउरा दही र केरासँग मुछेर खाँदा त्यस्तै मीठो ⁄ सोह्र श्राद्ध लागेपछि दर्जी दाइहरु मिसिन बोकेर घर–घरमा लुगा सिउन आउँथे ।

कति मीठो लाग्थ्यो नयाँ लुगाको गन्ध ⁄ हामी वरिपरि बसेर मिसिनको खटखट आवाज सुन्दै लुगा सिएको हेर्थ्यौ । कामी दाइहरु हतियार सान लाउन घर–घर आउँथे । दुईतिर साना–साना काठका किला गाढेर त्यसको बीचमा सान अड्याउँथे । घरका अलि बलियालाई डोरी तान्न लाएर स्वाइँ–स्वाइँ पार्दै कर्द, खुकुरी, खुर्पा, खुँडामा सान लाएर धारिलो र चम्किलो पारिदिन्थे । खसी काट्दा दर्जीको लागि पुच्छर र कामीको लागि गर्धन छुट्याएर राखिन्थ्यो ।

टीकाको दिन भने छुट्टै चहलपहल । टीको लाउँदा पढिने मन्त्र ‘आयु द्रोण सुते श्रेयं दशरथे’ लाई ‘आइन्द्रो नसुते सिरिन्त दशरथे’ भन्दै अनेक थरी आशिक दिंदै निधारमा दही र अबिरले मुछेको रातो टीका र कानमा पहेंला जमरा सिउरिदिन्थे अग्रजहरु । छोरी–चेलीले पैसा पाउँथे । छोराहरु चाहिं रित्तै । पैसा नपाउँदा किन छोरी भएर जन्मिनछु भनेर पछुतो लाग्थ्यो ।

दसै‌ं अर्को खुसी भनेको मावली जाँदाको हो । केटाकेटीमा नयाँ लुगा लगाएर आमासँग खोलानाला तर्दै र डाँडाकाँडा नाघ्दै मावली जाँदाको आनन्द त शब्दमा बयान गरी साध्य छैन । मावलीमा हजुरबा–हजुरआमा र मामा–माइजुहरुबाट केटा र केटी दुबैले पैसा पाइन्थ्यो । लामो आशिक सहित टीको लाइसकेपछि पैसा कति भए भनेर गन्न सार्‍है हतार हुन्थ्यो । तेरा यति मेरा यति भनेर हामी पैसा गन्थ्यौं । पैसा धेरै भए भने खुसीले उफ्रिन्थ्यौं ।

विभिन्न कामले परदेश गएकाहरु दसैंमा गाउँ फर्किन्थे । तिनीहरु गाउँ फर्किंदा छुट्टै रमाइलो हुन्थ्यो । कोही रेडियो बजाउँदै र कोही क्यासेट घन्काउँदै आउँथे । लाउरेहरु भरियालाई भारी बोकाएर तामझामका साथ आउँथे । त्यसरी पर्देशबाट मान्छेहरु आउँदा हामी केटाकेटीहरु खुसी हुँदै तिनका घरमा जान्थ्यौं । कोहीले मिठाइ दिन्थे । कोहीले चक्लेट दिन्थे । कसै–कसैले बिस्कुटको पुरिया खोलेर बाँड्थे । हामी फुरुङ्गै पथ्र्यौं ।

दसैंमा पिङ खेल्न पाउनुको आनन्द त्यस्तै । गाउँका टोल–टोलमा चहुर र चौताराहुँदी लिङ्गे पिङ हालिन्थ्यो । हामी जतिखेरै त्यही पिङमै झुम्मिन्थ्यौं । ठूलाहरुले पिङ मच्चाएर बाँसको टुप्पै नघाउन खोज्थे । दिउँसो मात्र होइन राति अबेरसम्मै पिङले फुर्सद पाउँदैनथ्यो । रातमा जून ढकमक्क लागेर त्यसै पनि डाँडा चहुरहरु रमाइला देखिन्थे । त्यसरी राति पिङ खेल्न आउने ठिटा–ठिटीहरु आकाशको जून टिपूँला जस्तो गर्थे ।  

लिङ्गे पिङ जताततै हुन्थ्यो भने रोटे पिङ चाहिं कहीं–कहीं मात्रै हालिएको हुन्थ्यो । फलाना ठाउँमा रोटे पिङ हाल्ने अरे भनेर दसैं आउनु अगाडि नै चर्चा हुन्थ्यो गाउँमा । रोटे पिङ भने पछि त झन् मान्छे हुरुक्कै ⁄जतिखेरै खेल्नेहरुको भीड लाग्थ्यो । त्यो गाउँ मात्र होइन, वारिपारिका मान्छेहरु समेत आउँथे । बल्ल–बल्ल एक चोटि खेल्न पाउँदा डर लागे पनि स्वर्गै पुगे जस्तो लाग्थ्यो हामीलाई ।

आफ्नो घर–आँगनको अतिरिक्त बर्खाको भेलबाढीले भत्काएका बाटोघाटो, धारा, कुवा, कुलो, चौतारा–पाटीहरुको सफाइ तथा मर्मत गर्र्ने ऊ बेलाको दसैंको प्रमुख विशेषता हो । गाउँको मुख्य व्यक्ति अर्थात् कोही बुढा–पुराना अगुवाले आज फलानो ठाउँको बाटो बनाउने, फलानो धारा, कुवा, कुलो, पोखरी र पाटी–चौतारा मर्मत गर्ने, सफा गर्ने भनेर नौरथा अगाडि सोर्‍ह श्राद्धको समयमा उर्दी जारी गर्थे । त्यस दिन हात–हातमा कुटो, कोदालो, झम्पल बोकेर घर लौरी अनिवार्य रुपमा जानुपर्थ्यो । नजानेलाई कुनै सजाय तोकिन्थ्यो । डरले पनि उपस्थित हुन्थे मान्छेहरु ।

बर्सेनी पालैपालो कहिले घाट जाने बाटो, कहिले हाट बजार र घाँस दाउरा गर्ने बाटो मर्मत गरिन्थ्यो । फराकिलो बनाइन्थ्यो । आफूले पानी खाने धारा, कुवा, वस्तुभाउलाई पानी खुवाउने/आहाल बसाउने पोखरी, खेतमा पानी लाने कुलो, बटुवा बिसाउने चौतारी र बास बस्ने पाटीहरु सफा गरिन्थ्यो । मर्मत गरिन्थ्यो र चिटिक्क पारेर सिंगारिन्थ्यो । यी सार्वजनिक सम्पतिहरुको संरक्षण गर्नुलाई गाउँलेहरु आफ्नो कर्तव्य ठान्थे । धर्म सम्झिन्थे । त्यसैले उत्साही भएर जम्मा हुन्थे । खुरुखुरु काम गर्थे । एउटाले भन्थ्यो अरुले मान्थे । 

जब बहुदल आयो यी सबै कुराहरु बिग्रिए । मान्छे अराजक र छाडा हुँदै गए । स्वतन्त्रताको नाममा स्वच्छन्द हुँदै गए । एउटाले भनेको अर्काले मान्न छोडे । एक–अर्कालाई बिचार र पार्टीको आँखाले हेर्न थाले । बर्सौदेखि आफूले पानी खाएको धारा–कुवाको सामान्य मर्मत गर्न पनि सरकारी बजेट चाहिने भयो । आफू हिंड्ने घर अगाडिको बाटो अलिकति धस्क्यो भने पनि सरकारकै बजेट चाहिने भयो । बाटामा तेर्र्सिएको काँडो पनि पन्साउन छोडे मान्छेहरु । पाटी–चौतारामा उम्रिएका झारहरु पनि देखेको नदेखै गर्न थाले मान्छेहरु । बजेट पारेर कमिशन खान पाए पुग्यो । झारा टार्न पाए पुग्यो । कमिशनको लोभमा आफ्ना कार्यकर्ताहरु पोस्न पाए पुग्यो । 

दसैं हाम्रो मातृपूजक संस्कृति हो । मातृ सत्तात्मक समाजमा नारीहरु अत्यन्त शक्तिशाली थिए । पूजनीय थिए । उनीहरुकै नेतृत्वमा विभिन्न गणहरु सञ्चालित हुन्थे । दसैंमा घर–घर तथा विभिन्न शक्तिपीठहरुमा गई शस्त्र तथा हात–हतियार सहित हामी तिनै गणनायिकाहरुकी अगुवा देवी दुर्गाको आरधना गर्छौं । विधि–विधानले पूजा–अर्चना गर्छौं । बली दिन्छौं । जीवनमा आइपर्ने समस्या र अप्ठ्याराहरुसँग लड्नको लागि शक्तिको याचना गर्छौं । 

दसैं नयाँ र पुराना पुस्ता जोड्ने चाड हो । हामी आफूलाई यो अमूल्य जीवन दिने पुर्खाहरु जो बितेर गए उनीहरुप्रति श्राद्धको माध्यमबाट श्रद्धा अर्पण गर्छौं । भक्तिभाव दर्शाउँछौं । बाँचीवर्ती रहेका अग्रज तथा मान्यवरको हातबाट निधारमा अक्षता र कानमा जमरा सहित आशीर्वाद लिन्छौं । आफूभन्दा सानाहरुको अस्तित्व स्वीकार्छौं । उनीहरुप्रति माया र स्नेहको न्यानो भाव प्रकट गर्छौं ।

 दसैं पुनर्मिलनको चाड हो । यो बेला पर्देशिएका आफन्तहरु घर सम्झेर आउँछन् । वषौंदेखि छुटेका साथीभाईहरु भेट हुन्छन् । सुख–दुःखका कुरा गर्छन् । बिगतका दिनहरु सम्झन्छन् । आफू खेले हुर्केका, बस–उठ गरेका ठाउँहरु हेरेर रमाउँछन् । यही दसैं हो, जसले आपसी झगडा गरेर पानी बाराबार गरेका आफन्त र छिमेकीहरुलाई पनि बिगतका शत्रुता भुलेर मित्रताको धागोले जोडिदिन्छ । मान्छेहरु टीको लाउन माइत–मामल जान्छन् । ससुराली जान्छन् । वर्षौं नभेटेका आफन्त र नाता–कुटुम्ब बीच फेरि आत्मीयता र हार्दिकता बढ्छ । ‘अहिले त बाँचियो । आघुँ साल के हो, के हो ?’ भनेर बुढाहरु चौतारामा बसेर बात मार्छन् । पुराना यादहरुमा डुबुल्की मार्छन् । छोडी गएकाहरुलाई सम्झन्छन् । 

दसैं प्रकृति पूजक अर्थात् जसले जीवन दिन्छ ऊ प्रति अनुगृहित हुने चाड हो । घटस्थापनामा दुर्गादेवीको प्रिय अन्न जौ लगायत आपूmले खाने अनेकथरीका गेडागुडीहरु पूजाकोठामा राखेर उमारिन्छ । नौरथाभरि तिनको पूजा गरिन्छ । औषधिजन्य तिनै जमरालाई उच्च स्थान दिएर शीरमा राखिन्छ । साथै फूलपातीको दिन उखु, बेलपत्र, बालासहितका धानका बोट लगायतका बोटबिरुवाहरुलाई विशेष विधि–विधानका साथ घरमा भित्रायाएर पूजाकोठामा राखिन्छ । आफूलाई प्राण दिने धानको अक्षतालाई दहीमा मुछी अग्रजको हातबाट निधारमा टाँसेर त्यसप्रति उच्च सम्मान दर्शाइन्छ  । यो भनेको हाम्रो कृषि परम्पराप्रतिको श्रद्धा र सम्मान हो । 

त्यसैगरी दसैं मनोरञ्जनको चाड पनि हो । वर्षभरिका तनाव र दुःख बिर्सिएर साथीभाइ, आफन्तहरुसँग रमाउने र मीठो–मसिनो खाएर, राम्रो लाएर आनन्दित हुने पर्व हो । ‘वर्षको एक चोटि भुईं छोड्नुपर्छ’ भन्ने मान्यता अनुसार दसैंमा रोटे पिङमा फनफनी घुमिन्छ । लिङ्गे पिङ मच्चाएर आकाशका जून–तारा टिप्न खोजिन्छ ।

दसैं सामाजिक एकता, सद्भाव र सहिष्णुताको चाड हो । दसैंको पूर्व सन्ध्यामा नै दसैं र यसपछि आउने तिहार, छठ, नेपाल संवत लगायतका शारदीय पर्वहरुको उपलक्ष्यमा विभिन्न संघ–संस्था, कार्यालय, समुदाय र सामाजिक संगठनहरुले चियापानको आयोजना गरी एक–आपसमा सुख, शान्ति, समृद्धि, आरोग्यता र उत्तरोत्तर प्रगतिको कामना गर्ने, शुभकामनाका रङ्गीन कार्डहरु बनाएर बाड्ने चलन पनि दसैंसँग अभिन्न रुपले जोडिएको छ ।

तर, विगतका केही वर्षहरु विशेषगरी द्वन्द्वकालीन समयमा यसमा जातीय र धार्मिक रङ्ग जोडेर समाजमा विग्रह र विद्वेष बढाउन खोजियो । दसैं चुच्चा नाकेहरुको अर्थात् हिन्दूहरुको मात्र हो भनेर यसलाई बहिष्कार गर्ने काम पनि भयो । तर, कसैको निहित स्वार्थमा सदियौंदेखि विभिन्न जातजाति, धर्मालम्बीहरु मिलेर बसेको हाम्रो समाजलाई भाँडेर नेताहरुले सत्ताको भर्‍याङ बनाएको अर्थात् विदेशी शक्तिको निहित स्वार्थ पूरा गर्न उनीहरुको गोटी बनेको कुरा नेपाली जनताहरुले बिस्तारै थाहा पाउँदै गए । दसैं हिन्दूहरुको मात्र नभई सबै नेपालीहरुको चाड हो भन्ने कुरा बुझ्दै गएपछि फेरि सामाजिक सद्भाव र सहिष्णुता कायम हुँदै गयो । 

 हो, दसैंका यी राम्रा पक्षहरुको चर्चा गर्दा यसभित्र मौलाउँदै गएका विकृत पक्षहरुलाई पनि खोतल्नुपर्ने हुन्छ । दसैंलाई सकी नसकी मनाउनुपर्ने बोझिलो पर्वको रुपमा पनि लिन थालिएको छ । धनीलाई त धन र रवाफको प्रदर्शन गर्न गार्‍हो भएन । तर, त्यसैको सिको गर्दै आफ्नो क्षमताको विचार नगरी ठूलो खसी काट्नै पर्ने, राम्रा लुगा लाउनै पर्ने, लाज होला भनेर राम्रै दक्षिणा दिनै पर्ने कुराले अरु घोडा चढ्यो भनेर आफू धुरी चढेको ठहर्छ ।

ऊ बेला दसैं मान्न गाउँका साहु महाजनबाट काढेको ऋण तिर्न नसकेर दसैं तिहारपछि लगत्तै ढाकर बोकेर मुग्लान पस्थे गरिब गुरुवाहरु । कोही उतै भासिन्थे भने कोही अलि–अलि पैसाको जोहो गरेर फर्किन्थे । अहिले ऋण तिर्नको लागि भारतै पस्न पर्दैन । पैसा कमाउने थुप्रै अवसर देशभित्रै पनि उपलब्ध छन् । नभए वैदेशिक रोजगारको ढोका त खुलै छ । हिजोभन्दा आजको सामाजिक अवस्था, जनताको जीवनस्तर र शैलीमा फरक भए पनि ऋण काढेर दसैंलाई धुमधामसँग मनाउनै पर्ने हाम्रो मनोवृत्तिमा भने सुधार आएको छैन ।

अर्को महत्वपूर्ण कुरा भनेको दसैंमा परम्पराको निरन्तरताको नाममा देवीघर तथा शक्तिपीठहरुमा राँगा, बोका लगायत असङ्ख्य निरीह पशु–प्राणीहरुलाई निर्मम तरिकाले बली दिनु अहिलेको सभ्य तथा आधुनिक चेतनाले सम्पन्न मानव समाजको लागि शोभनीय कुरो होइन । बली भनेको अरुको हत्या होइन काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, अहङ्कार, आलस्य, हिंसा र चोरी जस्ता आपूmभित्र विराजमान रहेका विभिन्न पापहरुलाई त्याग्ने वा नष्ट गर्ने कुरा हो । हाम्रो अमूल्य जीवनलाई विकृत बनाउने यी कुराहरु छोड्न सकेमा हाम्रो जीवन पूर्ण रुपले परोपकारी, परिष्कृत, समुन्नत र सुसभ्य बन्न सक्छ ।

यसकारण दसैं हाम्रो मौलिक र महान् पर्व हो । दसैंले कसैको दशा ननिम्त्याओस् । दसैं कसैको पेवा नबनेर सबैको प्रिय बनोस् । समाजको सम्पत्ति र गौरव बनोस् । यसले हाम्रो कर्मपथलाई सद्धर्म, सद्भाव र सहिष्णुताको बाटोमा हिंडाओस् । आकाशको टहटह जून जस्तै जीवनलाई अझ आकर्षक र उज्यालो बनाओस् । बाढी निख्रिएको नदी, बादल फाटेको आकाश र मैलो फाटेको धर्तीले सुशोभित प्रकृतिको शारदीय सौम्य रुप जस्तै दसैंले जीवनलाई अझ स्निग्ध, शान्त र आनन्दमय बनाओस् ।