चन्द्रमा र मंगल ग्रहमा मानव बस्तीको कल्पना, तथ्य र संभावना

चन्द्रमा र मंगल ग्रहमा मानव बस्तीको कल्पना, तथ्य र संभावना

ज्ञानमित्र  |  दृष्टिकोण  |  आश्विन २४, २०७८

अचेल समाचारपत्रहरूमा यस्ता समाचार देखिने गर्छन्, केही वर्षभित्रै ‘चन्द्रमामा मानव बस्ती’ अथवा सन् २०३० सम्म मंगल ग्रहमा मानव बस्ती बसाइने आदिआदि । विश्वका विभिन्न देशका सरकारी स्पेस एजेन्सीलगायत अर्बपति व्यापारीहरू एलन मस्क र जेफ बोजेस पनि यसका निमित्त प्रतिस्पर्धा गरिरहेका छन् ।

एलन मस्कले त आफ्नो आधन सम्पत्ति झण्डै १०० अर्ब डलर यस निमित्त समर्पण गर्ने कुरा गर्नुका साथै आफू नै पहिलो ‘मार्सियन’ बन्ने घोषणा पनि गरेका छन् । पृथ्वीमा बस्ने मानिसलाई होमो सेपियन्स भनिएको छ भने मंगल ग्रहमा बस्ने मानिसलाई मार्सियन भनिनेछ ।    

एक जना मित्रले यस सम्बन्धमा जिज्ञासा राख्दै सोधे, ‘होइन के साँच्चै आउँदो केही वर्षमा मानिस पृथ्वी छाडेर अन्य कुनै ठाउँमा गएर बस्न सक्छ ? जान पाए कति रमाइलो हुन्छ होला ?’

प्रतिउत्तरमा म फिस्स हाँसेको हेर्दा उनले पुनः सोधे, ‘होइन, तपाईं किन हाँस्नुभएको ? अस्ति भर्खरै मैले समाचारमा पढँे, सन् २०३० मा मंगल ग्रहमा वैज्ञानिकहरूले मानव बस्ती बसाउँदै छन् ।’

तपाईंहरूले पनि ती मित्रले झैँ यस्ता समाचार पढ्नुभएको होला । चन्द्रमादेखि मंगल ग्रहलगायत बृहस्पति र शनिका विभिन्न उपग्रहमा मानव बस्ती बसाइने पढ्नु/सुन्नुभएको होला ।  

सौर्यमण्डलमा पृथ्वीबाहेक अन्य ७ वटा ग्रह छन् । बुध सूर्यको धेरै नजिक ५ करोड ७९ लाख किलोमिटर भएकाले यहाँको तापमान दिउँसो ४२७ डिग्री सेल्सियस एवं राति -१८० डिग्री सेल्सियससम्म हुने गर्छ । यहाँको औसत तापमान १६७ डिग्री सेल्सियस हो । यहाँ जीवन हुने कल्पना नै गर्न सकिँदै न ।

शुक्र बुधपछि सूर्यको निकटस्थ ग्रह हो । शुक्रबारे पृथ्वीबासीको आकर्षण हजारौँ वर्षदेखि रहिआएको छ, पृथ्वीको बहिनीकै उपमा पनि पायो यस ग्रहले । सूर्यबाट १० करोड ८२ लाख किलोमिटर र पृथ्वीबाट झण्डै ९ करोड किलोमिटरमा रहेको शुक्रको तापक्रम भने ४६२ डिग्री सेल्सियस छ । सन् १९६२ मा यसतर्फ पठाइएको यान ‘मारिनेर- २’ र सन् १९७० मा ‘भेनेरा-७’ पछि यहाँ जीवनको कल्पनामा बिराम लाग्यो ।

सूर्यबाट दूरीमा तेस्रो ग्रह पृथ्वी र चौथो मंगल हो । यसमाथि चर्चा पछि गरौँला । सूर्यबाट पाँचौँ ग्रह बृहस्पति हो । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हो यो । सूर्यबाट ७७ करोड ८५ लाख किलोमिटर र पृथ्वीबाट ६२  करोड ८३  लाख किलोमिटरमा रहेको यो ग्रह पूरै ग्यासले बनेको छ । ग्यासको बादलमा तापमान -१६१ डिग्री सेल्सियससम्म हुन्छ । यो ग्रह पूरै ग्यासले बनेको छ ।    

‘बिग ब्याङ’पछि बनेका खर्बौं आकाशगंगामा रहेका खर्बौं पिण्डहरूमा पृथ्वी जस्तो ‘संयोग’ जुट्ने संभावना हुर्किएन भन्नु मानवश्लाघा हुनेछ । पृथ्वीभन्दा पनि बढी संयोग जुटेर, हाड, मासु र रगतको मानव शरीरभन्दा प्रकाश निर्मित शरीर भएका प्राणीको सिर्जनज भएको पनि त हुन सक्छ ।

सन् १९७६ मा यसतर्फ पठाइएको यान ‘भायजरले’ पठाएको सूचनापछि यसमा जीवनको संभावना हुन सक्ने अवधारणामा बिराम लाग्यो । अहिले वैज्ञानिकहरू यस ग्रहमा रहेका ७९ वटा चन्द्रमाको अनुसन्धानमा आकर्षित भएका छन् ।

बृहस्पतिपछिका शनि, अरुण, बरुण पनि ग्यासीय ग्रह हुन् । त्यहाँ जीवन हुन सक्ने संभावना छैन । पृथ्वीबाट सबैभन्दा नजिक रहेको यसको एक मात्र उपग्रह चन्द्रमामा सन् १९६९ देखि १९७२ सम्ममा ६ वटा एपोलो अभियान उडानमा १२ जना पृथ्वीबासीले टेकेका छन् । चन्द्रमामा वातावरण नभएकाले त्यहाँ मानव बस्ती बसाउन सकिने संभावना शून्य रहेको छ । त्यहाँ मानिस बाँच्न ‘स्पेस सुट’ लगाउनुपर्ने हुन्छ । पृथ्वीबाटै अक्सिजन लिएर जानुपर्छ । चन्द्रमामा दिउँसोको तापक्रम १०० डिग्री सेल्सियस र रातिको तापमान -१८० डिग्री सेल्सियससम्म पुग्छ ।

कुरा मंगल ग्रहको, पृथ्वीपछि सर्वाधिक मानव निर्मित उपग्रह मंगलकै कक्षमा स्थापित भएका छन् । पृथ्वी र मंगलको ग्रहीय गतिका कारण यी दुवैबीचको दूरीमा ठूलो अन्तर आउने गर्छ ।  सबैभन्दा नजिक हुँदा यी दुवैबीचको दूरी घटेर ५ करोड ६० लाख किलोमिटर आउँछ भने सामान्यतया यो दूरी ७ करोड ७७ लाख ९२ हजार किलोमिटर हुने गर्छ ।

दुवै ग्रह टाढा पुगेका बेला यो दूरी ४० करोड किलोमिटरसम्म पुग्छ । यहाँको औसत तापमान -६० डिग्री सेल्सियस छ । मंगलको वातावरण पृथ्वीभन्दा सय गुणा पातलो छ । वातावरणमा ९५.३२ प्रतिशत कार्बनडाइअक्साइड, २.७० प्रतिशत नाइट्रोजन, १.६० प्रतिशत आर्गन, ०.१३ प्रतिशत अक्सिजन, ०.०८ कार्बन मोनोअक्साइड प्रमुख छन् । 

मंगल ग्रहको वातावरणमा अक्सिजनको प्रतिशत ०.१३ प्रतिशत सुन्दा तपाईंलाई कस्तो लाग्यो ?

‘वाइकिङ यान’बाट नै थाहा भइसकेको थियो कि मंगल झण्डैझण्डै ‘भू-वैज्ञानिक’ दृष्टिकोणले मृत ग्रह हो । यस ग्रहमा मानव निर्मित रोबोटले अवतरण गरिसके पनि अहिलेसम्म मानव पाइलाले यहाँ टेकेको छैन । एलन मस्क आउँदो ४-५ वर्षभित्र मंगलमा पाइला राख्ने दाबी गर्छन् । अर्को अनुमानअनुसार सन् २०३०-२०३५ सम्ममा मंगल ग्रहमा मानव अवतरण हुने विश्वास गरिएको छ ।

चन्द्रमामा मानव पाइलाले टेकेको ५२ वर्ष बितिसक्दा पनि के उपलब्धि हात लाग्यो ?

आगामी वर्षमा मानिस मंगल ग्रहमा पुगेर आयो भने पनि के यसले मंगल ग्रहमा मानव बस्ती बसाउने कल्पना साकार हुन्छ र ? मानव बस्नलाई अक्सिजन, पानीदेखि केके चाहिन्छ भन्ने होइन, के चाहिँदैन भन्ने गन्न सजिलो हुन्छ । इन्टरनेसनल स्पेस स्टेसनमै (पृथ्वीदेखि ४०० किलोमिटर माथि) केही मानिस बस्दै आएका छन् । तिनका लागि चाहिने सबै कुराको सप्लाई पृथ्वीबाटै हुन्छ ।

चन्द्रमा अथवा मंगल ग्रहमा भोलि पृथ्वी जस्तै वातावरण रहेका डोम बनाएर मानिस बस्न सक्ला । सैद्धान्तिक रूपमा यस कुरालाई काट्न सकिँदैन । तर, डोम बनाउन सजिलो छ र ? अक्सिजनको निरन्तर आपूर्ति कसरी गर्ने ? पानीदेखि खाद्यान्नको आपूर्ति कहाँबाट गर्ने ?  

त के पृथ्वीबाहेक कुनै अन्य ठाउँमा जीवन छैन वा जीवनका लागि संभावना बोकेको ठाउँ छैन ? यस प्रश्नको ‘एवसोल्युट’ जबाफ छैन । पृथ्वीका माफिक जीवन हुनलाई सय, हजार, लाख होइन, अर्ब, खर्ब पनि होइन, १ अंकका पछाडि २८ वटा शून्य थपेर जुन संख्या प्राप्त हुन्छ, त्यति संयोग जुट्न आवश्यक छ । यतिका संयोग एकसाथ उपस्थित भएकाले तपाईं यो लेख पढिरहनुभएको छ । एउटा पनि संयोग शृंखलाबाट छुटेको भए यो लेखिन संभव थिएन वा तपाईंले पढ्न संभव थिएन ।

‘बिग ब्याङ’पछि बनेका खर्बौं आकाशगंगामा रहेका खर्बौं पिण्डहरूमा पृथ्वी जस्तो ‘संयोग’ जुट्ने संभावना हुर्किएन भन्नु मानवश्लाघा हुनेछ । पृथ्वीभन्दा पनि बढी संयोग जुटेर, हाड, मासु र रगतको मानव शरीरभन्दा प्रकाश निर्मित शरीर भएका प्राणीको सिर्जनज भएको पनि त हुन सक्छ । तपाईंका लागि यो कल्पना नै बकम्फुसे वा तपाईंको मस्तिष्कको क्षमताभन्दा बढी भएको हुन सक्छ । तर, कल्पना र सिर्जनाको मिलन बिन्दुमा योभन्दा धेरै अज्ञात किसिमका कल्पनातीत रचनाधर्मिता हुन सक्छन्  ।

मानिसले चाहेजस्तो सबै कुराले पायक, सम्पन्न ग्रहको पत्तो  विज्ञानले अहिलेसम्म पाएको छैन । खोज टुंगिएको छैन र अझै उन्नत वैज्ञानिक प्रविधिले यस दिशामा कार्य भइरहेको छ । आउने केही महिनाभित्र नै जेम्स वेभ स्पेस टेलिस्कोप (१८  डिसेम्बर २०२१) अन्तरिक्षमा स्थापित हुन्छ । यसका माध्यमले सुदूर अन्तरिक्षको व्यापक र बृहत् अध्ययनमा ठूलो फड्को नै लाग्नेछ । 

ल मानिलिऔँ, हाम्रो पृथ्वी जस्तै सबै कुराले सम्पन्न कुनै ग्रह भेटियो भने पनि के यसले हामीलाई पृथ्वी छाडेर त्यहाँ गई बस्ने अवसर प्राप्त हुन्छ र ?

एउटा उदहारण हेरौँ, मानिलिऔँ, सबैभन्दा नजिकको प्रोक्सिमा सेन्चुरीमा नै पृथ्वी जस्तो पायक कुनै ग्रह भेटियो । के अहिलेको हाम्रो विज्ञानले प्राप्त गरेको गतिबाट मानिस त्यहाँ पुग्न सक्छ ?  पृथ्वीमा बनेका रकेटको अधिकतम गति १७ किलोमिटर प्रतिसेकेण्ड हो । यस गतिले प्रोक्सिमा सेन्चुरी पुग्न ७० हजार वर्ष लाग्छ । ‘आकाशको फल, आँखा तरी मर’ जस्तै हुनेछ होमो सेपियन्सका लागि ।

मंगल ग्रह पुग्न नै अहिलेको विज्ञानलाई ७ महिनाको समय लाग्छ । अहिलेको उपलब्ध रकेट टेक्नोलोजीबाट मंगल ग्रहसम्मको एकतर्फी यात्रा त संभव छ, त्यहाँ पुगेर फर्केर आउनु संभव छैन । अहिलेसम्म यस्तो कुनै पनि रकेट बनेको छैन, जुन मंगल ग्रहसम्मको यात्रामा आफ्नो इन्धन बालेर यात्रा गर्न सकोस् । रकेटबाट मंगल ग्रहतिर सोझै यात्रा गर्ने हो भने यात्रा ५०-५२ दिनको मात्र हुन्छ । तर, त्यस्तो कुनै रकेट छैन । समस्या रकेटको इन्धनको आउँछ ।

के तपाईं अहिलेको सबैभन्दा लेटेस्ट कारले एक पटकको चार्जिङ अथवा तेल ट्यांकी फुल गरेर अमेरिका पुग्ने कल्पना गर्न सक्नुहुन्छ ? बीच बाटोमा तेल हाल्ने अथवा ब्याटरी चार्ज गर्ने सुविधा हुँदैन । लेटेस्टभन्दा लेटेस्ट कारको फुल चार्ज अथवा फुल ट्यांकीले ५००-६०० किलोमिटरको यात्रापछि  रिफ्युलिङ माग गर्छ । रकेटको कथा पनि यही नै हो ।

चन्द्रमामा बस्ती बसाउन अथवा मंगल ग्रहमा मानव बस्ती बसाउन टेराफार्मिङको कल्पना गरिएको छ । अहिलेको विज्ञानका लागि यो कल्पना पनि ‘मुंगेरीलाल के हसीं सपने’ जस्तै हो । टेरा फार्मिङ मानिसले पुगेर गर्ने कुरा होइन । यो गर्न हजारौँ संख्यामा अतिउन्नत रोबोट पठाउनुपर्ने हुन्छ । अहिलेका उपलब्ध रोबोट अथवा अहिलेको उपलब्ध आर्टिफिसियल इँटेलिजेँसले यो हुनु संभव छैन ।