'आईजीपी काण्डले के क्षति भयो हेक्का राख्नुस्, उठेका प्रश्नलाई ख्यालख्याल नसोच्नुस्'

'आईजीपी काण्डले के क्षति भयो हेक्का राख्नुस्, उठेका प्रश्नलाई ख्यालख्याल नसोच्नुस्'

न्युज कारखाना  |  समाचार  |  आश्विन २४, २०७८

नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताएका छन् । विगतका कमी कमजोरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेको, संसद प्रभावकारी बनेर चल्न नसकेकाले संसदीय मूल्य, मान्यताअनुरूप संसद्ले काम गर्न नपाए फ्रेस इलेक्सनमा जानुपर्ने बताए ।

कांग्रेस काठमाडौं महानगरपालिका २२ नम्बर वडाद्वारा आयोजित कार्यक्रममा बोल्दै सिंहले भने, 'झन्डै दुई तिहाई जनमत पाएको सरकार किन बाहिरनुपर्‍यो ? विधि नमाने, कानुनभन्दा माथि बसे, मैले जे गरे पनि हुन्छ भनेकाले बाहिरियो ।'

ओली सरकार असफल किन भयो भन्ने नबुझेर फेरि म अब जे पनि गर्न सक्छु भनेर लोकतन्त्रको मूल्य, मान्यताविपरीत संविधानको गलत ब्याख्या गरेर न्यायपालिका सरकार गठनमा जोडिएको कुरा लोकत्नत्रका लागि गम्भीर चुनौती भएको उनले बताए ।

उनले गत चुनाव अगाडि आईजीपी प्रकरण र प्रधानन्यायाधीशमाथि महाअभियोगले जनतामा कस्तो प्रभाव पार्‍यो भन्ने कुरा नबिर्सिनसमेत अपिल गरे । देउवा सरकारले यतिका दिन लगाएर पूर्णता पाएपछि उठेका गम्भीर प्रश्नलाई ख्यालख्याल सोच्न नहुनेसमेत बताए । पार्टीभित्रका केही मान्छेहरूका गलत कार्यको सिंगो पार्टीले मूल्य चुकाउनुपर्ने भन्दै पदमा बस्नेले जे मन लाग्यो गर्ने अनि जनतामा आफूहरूले जबाफ दिँदै ढाकछोप गर्नुपर्ने र आफ्नै नेतालाई खुइल्याउने काम गर्‍यो भन्न मिल्छ ? भन्दै असन्तुष्टि पोखे ।

पार्टीभित्रको एउटा समूह सुरुदेखि नै आफूविरुद्ध गलत भ्रम फैलाउन लागेको भन्दै गणेशमान र मंगलादेवीको छोरा भएर विरासतको राजनीति गर्‍यो भन्ने आरोपको पनि कडा प्रतिवाद गरे । आफूले बाबुआमाको नामबाट राजनीति नगरेको भन्दै सामान्य कार्यकर्ताले जस्तै विद्यार्थी जीवनबाटै राजनीतिक कार्यकर्ता बनेर दु:ख, कष्ट, संघर्ष गर्दै जेलनेल भोगेर अगाडि बढेको बताए । आफू जागिर खाएर व्यापार व्यवसायमा लागेर अनि रिटायर्ड लाइफ राजनीति  गर्न आएको होइन भन्ने कुरा ख्याल गर्नसमेत आग्रह गरे ।

नेता सिंहले अवसर पाएर काम गर्न नसक्नेहरूको गुणगान गाएर आफ्नो स्वार्थ पूरा गर्ने जमातका कारण पार्टी र लोकतन्त्र कमजोर बनेको भन्दै गलत कुरालाई आफूले सही भन्न नसकने बताए । कांग्रेसको कमजोरीका कारण कम्युनिस्ट सत्तामा पुगेर लोकतन्त्र नै समाप्तिको बाटोमा लागेकाले अब लोकतन्त्र बचाउन कांग्रेस बलियो हुनुपर्ने भन्दै बलियो कांग्रेसका लागि नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताए ।