लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् कांग्रेसबाट मन्त्री हुनेहरू

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् कांग्रेसबाट मन्त्री हुनेहरू

न्युज कारखाना  |  समाचार  |  आश्विन २४, २०७८

सरकार गठन भएको करिब २ महिनापछि लुम्बिनी प्रदेश सरकारमा जाने मन्त्रीहरूको नाम कांग्रेसले टुंगो लगाएको छ । कांग्रेसले मन्त्रिमरिषद्‌मा पठाउने व्यक्तिहरूको नाम टुंगो लगाएसँगै मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबारै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । 

कांग्रेसले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका लागि पाल्पाका वीरबहादुर रानालाई पठाउने निर्णय गरेको छ । त्यसबाहेक राज्यमन्त्रीमा पनि निर्णय भइसकेको बताइएको छ ।

नेपाली कांग्रेसले यसअघि नै वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा, विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्दिन खाँलाई पठाउने निर्णय गरिसकेको थियो ।

सत्ता साझेदार प्रमुख २ घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले यसअघि नै मन्त्रीको नाम टुंग्याइसकेका छन् । मुख्यमन्त्री कार्यालयले अपराह्न ३ बजे शपथको तयारी गरेको छ । 

माओवादी केन्द्रले भने यसअघि नै सरकारमा सहभागी हुने २ मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको थियो । दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मालाई मन्त्रिपरिषद्‌मा पठाउने निर्णय माओवादीले गरेको हो । निर्णयअनुसार दाङकी विमला वली राज्यमन्त्री बन्नेछन् । उनी सूर्य चिह्नबाट चुनाव जितेर माओवादी केन्द्र रोजेकी थिइन् ।

माओवादी केन्द्रले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, संचार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ । 

माओवादीले पाएका ४ मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा (एस)लाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ । नेकपा (एस)बाट एक मात्र सांसद पाल्पाकी रमा घर्ती पनि सरकारमा सहभागी हुनेछन् ।

१३ वटा मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका एक, जसपाका ३ र स्वतन्त्र एक गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।

जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था पाएको छ । त्यस्तै, स्वतन्त्रका अजय शाही उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री छन् ।