प्रदेश १ का सभामुखमाथि खनिए विपक्षी गठबन्धनका सांसद

प्रदेश १ का सभामुखमाथि खनिए विपक्षी गठबन्धनका सांसद
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  आश्विन २४, २०७८

प्रदेश १ का सभामुखविरुद्ध विपक्षी गठबन्धनका सांसदहरू रुष्ट बनेका छन् । आज बसेको संसद् बैठकमा प्रतिपक्षी दलका २ जना सांसदले अल्पमतमा परेको सरकारले विश्वासको मत नलिएकामा आलोचना गरेका हुन् । साथै, सभामुखले पनि सरकारलाई नै साथ दिएको भन्दै उनीहरू रुष्ट बनेका हुन् । 

प्रदेशसभामा विशेष समय लिएर बोलेका नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकारले लाजलाई छोप्ने कुनै उपाय बाँकी नराखेको टिप्पणी गरे । सरकार संविधान र ऐन, कानुनलाई नमान्ने गरी अराजक रूपमा अघि बढ्दासमेत सभामुख मौन रहनुले आश्चर्यचकित बनाएको उनले बताए । उनले भने, ‘कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएन, सभामुखले सर्वदलीय बैठक बोलाउनुपर्थ्यो किन बोलाएनन् ?’

यस्तै, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सभामुखको भूमिकाप्रति शंका जनाए । संविधानको परिपालना र कार्यान्वायनमा ध्यान दिन सभामुखको ध्यानाकर्षण गरे । संविधानको अपव्याख्या नगर्नसमेत उनले आग्रह गरे । सरकारले विश्वासको मत लिन नसके मार्गप्रशस्त गर्न उनले मुख्यमन्त्रीलाई आग्रह गरे । 

उनले सविधानको रक्षा गर्न सरकारलाई रुलिङ गरेर विश्वासको मत लिने वातावरण बनाउनसमेत सभामुखसँग आग्रह गरे । हिजो (शनिबार) मात्र सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत ५ कात्तिकमा लिने भए तपाईंहरूले सहजीकरण गरिदिनुपर्‍यो भन्दै गठबन्धन दलका नेताहरूलाई फोन गरेको बताइएको छ । 

सभामुख भण्डारीले प्रदेशसभाको बैठक २५ असोज दिउँसो २ बजेलाई बोलाएका छन् ।