वार्ता बिफलपछि चीन र भारतबीच फेरि आरोप-प्रत्यारोप

वार्ता बिफलपछि चीन र भारतबीच फेरि आरोप-प्रत्यारोप

एजेन्सी  |  विदेश  |  आश्विन २५, २०७८

चीन र भारतबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । लद्दाखमा जारी तनाव अन्त्य गर्ने विषयमा २ देशका सैन्य कमान्डरहरूबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको हो । वार्ता बिफल भएसँगै दुवै देश आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।

लद्दाखलाई लिएर २ देश पछिल्लो १७ महिनादेखि तनावमा छन् । सीमामा दुवै देशका सेना आमनेसामने अवस्थामा छन् । 

चीनले सीमामा आफ्ना सैन्य गतिविधि तीव्र पारेको भारतीय पक्षको आरोप छ तर भारतीय आरोपलाई चीनले अस्वीकार गर्दै आएको छ । वार्तामा आफूले दिएको रचनात्मक सुझावलाई चीनले बेवास्ता गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ । वार्ताका क्रममा चीनले कुनै राम्रो प्रस्ताव ल्याउन नसकेको पनि भारतले आरोप लगाएको छ । तर, ती सबै आरोप चीनले अस्वीकार गरेको छ । 

‘भारतको अस्वाभाविक र जटिल मागका कारण वार्तामा समस्या आएको हो', चिनियाँ पक्षले भनेको छ । करिब २ महिनाको अन्तरालपछि दुवे देशका कमान्डरहरू चिनियाँ भूमि मोल्डोमा वार्तामा बसेका थिए । 

सीमामा दुवै देशका सेनाले दशौँ हजार सेना परिचालन गर्नुका साथै अत्याधुनिक हतियार, ट्यांक, लडाकु विमान, आर्टिलरी तैनाथ गरेका छन् ।