वैद्य र बिजुक्छेहरूको 'राजावादी क्लब'मोह: राजतन्त्र फर्किने संभावनाको खास हत्या

वैद्य र बिजुक्छेहरूको 'राजावादी क्लब'मोह: राजतन्त्र फर्किने संभावनाको खास हत्या

ज्ञानमित्र  |  दृष्टिकोण  |  आश्विन ३१, २०७८

राजतन्त्र विस्थापित भएको पुग नपुग झण्डै डेढ दशक भयो । शक्तिको केन्द्रमा नहुँदा एउटा फाइदा के हुन्छ भने उदीयमान नयाँ शक्तिको सारा असफलता र विफलताको मनोवैज्ञानिक लाभ अथवा भनौँ एक किसिमको सहानुभूति, सद्भाव पुरानो सत्ताधारीलाई प्राप्त हुने गर्छ । तर, गरेको उसले भाङ-धतुरो केही पनि हुँदैन । बस् वर्तमानका नालायक शासक सत्ताको चर्को दुर्गन्धले ऊ सुवासित भएको भन्ने भ्रम वायुमण्डलमा प्रवाहित हुन्छ ।

‘म दाइ जस्तो टुलुटुलु हेरेर सिंहासनमा बस्ने होइन’ भन्ने उद्घोषका साथ दोस्रो पटक मस्तकमा श्रीपेच धारण गरेका ज्ञानेन्द्र शाहले आफ्नो अपरिपक्वता र उद्दण्डताले राजतन्त्रलाई इतिहासको गर्तमा पठाए । नेपालको राजतन्त्रले देशको प्रजातान्त्रिक शक्तिलाई दबाउन सधैँ आपराधिक कम्युनिस्टलाई प्रश्रय दिएको परंपरालाई निर्वहन गर्दै तत्कालीन समयमा हिंसारत माओवादीसँग सहकार्य गर्दै ज्ञानेन्द्र शाहले तत्कालीन कांग्रेस र आधाउधी प्रजातान्त्रिक भइसकेको तत्कालीन एमालेलाई पाखा लगाएको आमनागरिकले बिर्सिए पनि इतिहासले त बिर्सिंदैन ।

नेपालमा गणतन्त्र आउनुमा कसैले श्रेयको दाबी नगरे हुन्छ । यसको एक मात्र श्रेय ज्ञानेन्द्र शाहलाई मात्र छ । देशका प्रजातान्त्रिक शक्ति र भारतको विरोधमा ओर्लेर उनी स्वयंले देशलाई गणतन्त्रपथमा अगाडि बढाएका थिए ।

वर्तमान संविधान, धर्मनिरपेक्षता, संघीयतालगायत यावत् कुरूपताको जननी १२ बुँदे समझौताको विरोध वा आलोचना गर्नु आफ्नो ठाउँमा ठीक होला तर स्मृति दुरुस्त भएका नेपाली प्रबुद्ध समुदायले के  बिर्सनुहुँदैन भने तत्कालीन संसद्वादी भनिएका ७ दललाई यो सम्झौतामा पुर्‍याउन बाध्य बनाउने तत्कालीन महाराज ज्ञानेन्द्र शाह नै थिए ।

आज नेपाली कांग्रेसलाई माओवादीसँग सहकार्य गरेर देशलाई खाडलमा पुर्‍याएको आरोप लगाउनेहरूले एक पटक त्यस बेलाको ज्ञानेन्द्र शाहको मनस्थितिलाई विचार गरी हेरून् त !

‘२ जनाका बन्दुक मिले भने के हुन्छ ?’ भनी मनन गरेर गिरिजाप्रसाद कोइरालाले घोषणा गरेर नै माओवादीसँग हेलमेल बढाउँदै १२ बुँदे  सम्झौतामा पुगेर ज्ञानेन्द्र शाहको पतन संभव भएको थियो । १२ बुँदेले देशलाई धरापमा पार्‍यो भन्ने बुद्धिजीवीले एक पटक कल्पना गरेर हेरून्, त्यो बेला राजतन्त्र र हिंसारत माओवादीका बन्दुकका बीच सम्झौता भएको भए कुन अवस्था सिर्जना हुन्थ्यो ?

जतिसुकै निकृष्ट, जतिसुकै अपवित्र भए पनि १२ बुँदे सम्झौताले देशलाई प्रजातान्त्रिक धारमै डोहोर्‍यायो । हो, यो सत्य नै हो । यसै १२ बुँदेका कारण देशबाट राजतन्त्र र हिन्दू धर्म विस्थापित हुन पुगे ।

एमसीसी डिसेम्बरभित्र नै पास हुन्छ । के अमेरिकी राजदूत रेन्डी बेरीलाई थाहा छैन कि ज्ञानेन्द्र शाहीदेखि डा. रामप्रसाद उप्रेती, भरत जंगम आदि कोबाट परिचालित भएर एमसीसीको विरोधमा उफ्रिएका थिए । यसको मूल्य दरबार र ज्ञानेन्द्र शाहले चुकाउनुपर्ने हुन्छ

गणतन्त्रपछिको नेपाल

व्यवस्था जुनसुकै होस्, जबसम्म व्यवस्थाका संचालकहरू इमान्दार हुँदैनन्, तबसम्म कुनै पनि व्यवस्थाले केही गर्न सक्दैन । गणतन्त्रसँग पनि यही नियति दोहोरियो । गणतान्त्रिक संविधान लागू हुनुभन्दा पहिला नै छताछुल्ल भएको नवगणतन्त्र संविधान घोषणा हुँदासम्म ‘बाँदरको हातमा नरिवल’झैँ भइसकेको थियो । 

यहाँ यो बिर्सनुहँदैन कि सन् २०१४ मा भारतमा भएको सत्ता परिवर्तन (दक्षिणपन्थी भारतीय जनता पार्टीको उदय)ले पनि गणतन्त्रको मूल र मर्ममै अस्वीकृतिका साथै प्रहार गर्न थालिसकेको थियो । छोटो अवधिमै नेपालमा गणतन्त्रभित्र सबै किसिमका प्रयोग हुँदै सबै नै पूर्ण असफल साबित भएकाले पुरानो राज्यसत्ताका मतियारहरूलाई प्राण ऊर्जा प्राप्त हुन आयो ।  

पूर्वसेनापतिदेखि अनेकथरिका अनुहार कोही गणतन्त्रको विरोधको नाममा, कोही संविधानको विरोध गर्ने नाममा, कोही धर्मनिरपेक्षताको विरोध गर्ने नाममा कोठे संघ-संगठन खोल्दै राजतन्त्रको नयाँनयाँ मुल्ला बनिरहेका छन् ।

हो यो वास्तविकता हो देश अहिलेको पद्धतिबाट चलिरहन सक्दैन । संविधान फाल्नु अथवा यसमा आमूल परिवर्तन हुनु आवश्यक छ । सबै राजनीतिक दल, समुदाय यहाँसम्म कि जनसाधारणले वर्तमान संविधानको निरर्थकता बोध गरिसकेका छन् ।

अहिले पुरानो राजशाही यसै अवसरको लाभ लिन अग्रसर भएको हो । एक हदसम्म राजशाहीको पक्षमा विगत एक-डेढ वर्षदेखि माहोल नबनेको पनि होइन । तर, यो माहोल कुनै ठोस धरातलमा नभई दरबार र ज्ञानेन्द्रका आसेपासेसम्म सीमित छ । युट्युबमा २०-२५ जनाले राजतन्त्र र ज्ञानेन्द्र आइसके भनी उफ्रिँदा ज्ञानेन्द्र शाहले शिरमा हात पुर्‍याई श्रीपेच छाम्नु ‘सातुको कथाको नायक’ हुनु जस्तै हो ।

केही दिन पहिला मोहन वैद्य, नारायणमान बिजुक्छे पनि ‘ज्ञानेन्द्र क्लब’मा सदस्य हुन पुगेको समाचार आयो । विप्लवले पनि यस क्लबप्रति रुचि प्रकट गरेको हल्ला छ । दरबारियाहरू यी कम्युनिस्टहरूको समर्थन पाएर उत्साहित छन् । तर, यथार्थ भने यी कम्युनिस्टको समर्थनले केही वर्षअघि निर्वासनमा पुगेको राजतन्त्रको अब विधिवत् हत्या भएको छ ।

अमेरिकामा रहेका पत्रकार गुणराज लुइँटेलको सम्झना आउँछ । मदन भण्डारी काण्ड के कसरी भएको थियो, त्यो ईश्वरलाई अथवा षड्यन्त्रकारीलाई मात्र थाहा छ । ईश्वरलाई भेट्नु मात्र दुर्लभ छैन, षड्यन्त्रकारीसम्म पुग्न पनि ईश्वर भेट्नु सरह नै दुर्लभ हुन्छ । मदन भण्डारीको निधन भएको वर्षौंसम्म त्यस घटनाबारे चर्चा परिचर्चा हुने क्रम जारीे थियो ।

तत्कालीन ‘जनादेश’ भन्ने माओवादी निकट साप्ताहिक पत्रिका थियो । यसले एक जना भारतीय गुप्तचर संस्था ‘रअ’को कर्मचारीको हवाला दिँदै शृंखलागत रूपमा यसरी भएको थियो मदन भण्डारीको हत्या भनेर लेख्यो । लेख्ने मानिस थिए कम्युनिस्टले वैज्ञानिक बनाएका झापाली गणेश खत्री  । 

जनादेशले ८-१० अंक  गसिप लेखेपछि गुणराज लुइँटेलले आफ्नो मासिक पत्रिकामा जनादेशले गुप्त राखेको रअको एजेन्टको फोटो प्रकाशन गर्दै विस्तृत कथा प्रकाशन गरे । तत्कालीन माल, एमाले, माओवादीका धेरै जना पत्रकारहरूलाई थाहा थियो- यो सबै खुराफात गणेश खत्रीले गरिरहेका छन् ।

एक जना फोटो पत्रकार थिइन् (सरी, अहिले पनि छन् उषा तित्तिक्षु) उनले ‘यो फोटो त भारतीय पत्रकार कुलदीप नैय्यरको हो’ भनेपछि जनादेशदेखि गुणराजसम्मको बडो बदनाम भयो ।

यस घटनापछि मदन भण्डारी प्रकरण सदाका लागि सेलायो । वास्तवमा मदन भण्डारीको हत्या अथवा मृत्यु त त्रिशूलीमा खसेर भएको थियो तर यस प्रकरणको सदाका लागि हत्या जनादेश र गुणराज लुइँटेलले गरेका थिए । गुणराजले पुरस्कार स्वरूप अमेरिकाको भिसा पाए । 

अब यी समस्त घटनाका पछाडि मूल सूत्रधार को थियो ? भनी जान्न त्यस व्यक्तिको खोजी गर्नुपर्छ, जुन व्यक्तिको सिफारिस र सहयोगले गुणराजले अमेरिकाको भिसा पाएका थिए । उनी कुनै कम्युनिस्ट पार्टीका सर्वोच्च नेता हुन् ।

राजतन्त्र र ज्ञानेन्द्रको प्रकरणमा मदन भण्डारीको चर्चा गर्नुको कारण छ । मोहन वैद्य, नारायणमान बिजुक्छे, विप्लव आदिको समर्थन निर्वासित राजतन्त्रको हत्या सरह हो, गुणराज लुइँटेलले मदन भण्डारी प्रकरणको हत्या गरेजस्तै ।

देश दुनियाँलाई थाहा छ- नेपालको लोकतान्त्रिक शक्ति अर्थात् नेपाली कांग्रेस, दक्षिणी छिमेकी भारत र अन्तर्राष्ट्रिय रूपमा अमेरिकाले समर्थन सहयोग नगरेसम्म राजतन्त्र कुनै पनि भूमिकामा फर्किन सक्दैन । दरबारियाहरू कतिका सिल्ली छन् भने, एमसीसीको विरोध गरेर यिनले अमेरिकालाई पर गरे । सबैलाई विदित नै छ, एमसीसीको विरोध दरबार र अवसर नपाएका नेता एवं चिनियाँ दलाल कम्युनिस्टहरूबाट मात्र भएको हो ।

जतिसुकै राष्ट्रवादी भए पनि, जतिसुकै भारतविरोधी भए पनि सबै महाशयहरूलाई स्पष्ट थाहा छ कि नेपालमा कुनै पनि परिवर्तन हुनलाई भारतको साथ सहयोग र सहमति नभई हुँदैन । विडम्बना के छ भने, नेपालका मै हुँ भन्ने विश्लेषकहरूले भारतीय जनता पार्टीलाई अटल-आडवाणी युगको हिन्दुवादी दल सम्झिने गर्छन्

एमसीसी डिसेम्बरभित्र नै पास हुन्छ । के अमेरिकी राजदूत रेन्डी बेरीलाई थाहा छैन कि ज्ञानेन्द्र शाहीदेखि डा. रामप्रसाद उप्रेती, भरत जंगम आदि कोबाट परिचालित भएर एमसीसीको विरोधमा उफ्रिएका थिए । यसको मूल्य दरबार र ज्ञानेन्द्र शाहले चुकाउनुपर्ने हुन्छ ।

नेपालका कम्युनिस्टले राजतन्त्रको पक्षमा बोलेर भारतलाई सतर्क हुने अवसर प्रदान गरेका छन् । मोदीलाई नेपाली कम्युनिस्टको घाँटीबाट चीन बोलेको हो भन्ने बुझ्न कुनै बिहीबार पर्खिरहनुपर्दैन ।

मोहन वैद्य आदिको समर्थनले निर्वासित भएको राजतन्त्रको पूर्णतया हत्या भएको छ । गुणराज लुइँटेलले मदन भण्डारी प्रकरणको हत्या गरेजस्तै घर न घाटका कम्युनिस्टहरूको अभिव्यक्तिले राजतन्त्र फर्किने संभावनामा सधैँका लागि तुषारापात भएको छ ।

जतिसुकै राष्ट्रवादी भए पनि, जतिसुकै भारतविरोधी भए पनि सबै महाशयहरूलाई स्पष्ट थाहा छ कि नेपालमा कुनै पनि परिवर्तन हुनलाई भारतको साथ सहयोग र सहमति नभई हुँदैन । विडम्बना के छ भने, नेपालका मै हुँ भन्ने विश्लेषकहरूले भारतीय जनता पार्टीलाई अटल-आडवाणी युगको हिन्दुवादी दल सम्झिने गर्छन् । यथार्थमा यो सन् २०१४ यता मोदी-शाह-डोभाल संचालित विशुद्ध बनियाँ पार्टी हो, जसले आफ्नो फाइदाका लागि मिलिग्रामसम्मको हिसाब गर्छ । यो तिकडीले शत्रुलाई कमजोर बनाउनेमा विश्वास गर्दैन बरु शत्रुको जरामै मोही हालेर वृक्ष नै विनाश गर्ने रणनीतिमा काम गर्छ ।

राजा र राजतन्त्रको समर्थनमा देखिएका संघ समूहको जीवनकाल आगामी निर्वाचनसम्म हो । निर्वाचन सम्पन्न हुनासाथ यी सबै आफूलाई पायक पर्ने दुलोमा पसी अर्कै कुनै भजन गाउनेछन् ।