तालिबानको प्रतिबन्ध : अँध्यारोतर्फ धकेलिँदै अफगान किशोरी

तालिबानको प्रतिबन्ध : अँध्यारोतर्फ धकेलिँदै अफगान किशोरी

एजेन्सी  |  विदेश  |  कार्तिक १, २०७८

काबुल ।  गत मे महिनामा अतिवादी समूह आईएसले एउटा विद्यालयमा विस्फोट गराउँदा अफगान किशोरी अमिनका दर्जनौँ सहपाठीको मृत्यु भएको थियो । तर, पनि उनले हिम्मत हारिनन् । बरु अध्ययनलाई निरन्तरता दिने जमर्को गरिन् । 

तर, अहिलेको अवस्था झन् फरक छ । एक महिनाअघि तालिबानले छात्राहरूलाई अर्को व्यवस्था नभएसम्म विद्यालय नजान निर्देशन दिएपछि उनी थप चिन्तित छन् । आफ्नो अध्ययनमै पूर्णविराम लाग्ने हो कि भन्ने पिरले उनलाई सताइरहेको छ । ‘म विद्यालय गएर पढ्न चाहन्छु, साथीहरूसँग रमाइलो गर्न मन छ । तर, तालिबानले पढ्न रोक लगाएका छन् ’, उनी गुनासो गर्छिन् ।

तालिबानले सत्ता सम्हालेदेखि उनी निकै दुःखी छन् । पढेर भविष्यमा पत्रकार बन्ने उनको लक्ष्य छ , तर अफगानिस्तानमा आफ्नो भविष्य देखेकी छैनन् । 
१८ सेप्टेम्बरमा तालिबानले पुरुष शिक्षक र १३ वर्षमाथिका छात्रलाई माध्यमिक विद्यालयमा पठाइदिएको थियो । तर, शिक्षिका र छात्राबारे केही निर्णय भएको छैन । जसका कारण उनीजस्ता हजारौँ बालिका घरमै बस्न बाध्य छन् ।
 
दुई साताअघि तालिबानले उमेर पुगेका छात्रा माध्यमिक विद्यालयमा फर्किन सक्ने निर्णय गरे । तर, उनीहरूमाथि कडा सर्त र बन्देज लगाइयो । तालिबानको आदेशपछि कुन्दुजलगायतका केही प्रान्तमा छात्राहरू माध्यमिक विद्यालय जान थालेका छन् तर उनीहरूलाई यसअघि झैँ पुरुषसँग बस्न दिइएको छैन । उनीहरूले छुट्टै पोसाक लगाउनुपर्ने बाध्य पारिएको छ ।