'एमसीसीमा नेपालकै कानुन लागू हुन्छ, जस्ताकाे त्यस्तै पारित हुन्छ'

'एमसीसीमा नेपालकै कानुन लागू हुन्छ, जस्ताकाे त्यस्तै पारित हुन्छ'
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  कार्तिक ५, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् ।

बाढी-पहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा एमसीसी जस्ताको त्यस्तै पारित हुने बताएका हुन् ।

'एमसीसी नेपालकै कानुनको अधीनमा रहेर लागू हुने हो', प्रधानमन्त्री देउवाले भने, 'बाहिरी हल्ला फैलाएर त्यसको गलत प्रचार गरिएको छ, त्यस्ताे हाेइन, एमसीसी नेपालको हितमा छ, नि:शर्त पास गर्नुपर्छ ।’

५० करोड अमेरिकी डलरको यस परियोजनाबाट नेपालमा विद्युतीय प्रसारण लाइन निर्माण गर्ने योजना रहे पनि संसदबाट पारित हुन सकेको छैन ।

यसै क्रममा प्रधानमन्त्री देउवाले बमौसमी बाढी-पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले बाढी-पहिरोले ठूलो धनजनको क्षति भएको बताए । उनले सरकारले तत्कालीन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्ने बताए ।

संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र पर्यटनमन्त्री प्रेम आलेलाई लिएर बिहीबार सुदूरपश्चिम पुगेका देउवा आज शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ । पछिल्लो एक साताको बाढी-पहिरोका कारण १०० जनाभन्दा बढीको ज्यान गएको गृह मन्त्रालयको तथ्यांक छ । किसानले भित्र्याउन लागेको धान पनि वर्षाले नष्ट गरिदिएको छ । 

फरक प्रसंगमा सुदूरपश्चिम प्रदेश सरकारको हेरफेर हुने चर्चा चलिरहँदा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले यसबारे छलफल नै नभएको बताएका छन् ।

शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको र काठमाडौं गएर छलफल हुने बताए ।

बिहीबार मात्र बाग्मती सरकारमा नेकपा (एकीकृत समाजवादी) र कांग्रेसले आलोपालो मुख्यमन्त्री लिने सहमति भएको थियो ।

सुदूरपश्चिममा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । प्रदेशसभामा माओवादी दोस्रो दल हो ।

तर, पहिलो दल नेकपा (एकीकृत समाजवादी) र तेस्रो दल कांग्रेसका प्रदेश स्तरका नेताहरू सरकार हेरफेर हुनुपर्ने भन्दै नेतृत्वसँग लवइङि गरिरहेका छन् । एकीकृतबाट भौतिकमन्त्री रहेका दीर्घ सोडारी र कांग्रेस संसदीय दलका नेता रणबहादुर रावल मुख्यमन्त्रीका लागि दौडधुपमा रहे पनि प्रधानमन्त्री देउवाले यसबारे छलफल नै नभएको बताएका हुन् ।

सुदूरपश्चिममा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२ र एमालेका १० जना सांसद छन् । यसैगरी जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका एक-एक सांसद छन् ।