चीनले आक्रमण गरे ताइवानको रक्षा गर्छौंः अमेरिका

चीनले आक्रमण गरे ताइवानको रक्षा गर्छौंः अमेरिका

एजेन्सी  |  विदेश  |  कार्तिक ५, २०७८

अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताइवानमाथि हमला गरे अमेरिकाले उसको  रक्षा गर्ने चेतावनी दिएका छन् । ‘चीनले ताइवानमाथि आक्रमण गरे त्यसको उपर्युक्त जबाफ दिने प्रतिबद्धता जनाउँछौँ', राष्ट्रपति बाइडेनले भने । 

तर, ह्वाइटहाउसका प्रवक्ताले राष्ट्रपतिको भनाइले ताइवानप्रति अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको धारणा व्यक्त गरेका छन् ।  यस्तै, बाइडेनको अभिव्यक्तिले चीनप्रतिको आफ्नो अडानमा कुनै परिवर्तन नहुने ताइवानले जनाएको छ ।  

ताइवानलाई रक्षा गर्ने विषयमा अमेरिकाले लामो समयदेखि अस्पष्ट रणनीतिक अभ्यास गर्दैै आएको छ । यसको अर्थ चीनले ताइवानमाथि हमला गर्‍यो भने उसलाई कसरी रक्षा गर्ने भन्ने विषयमा अमेरिका पूर्ण रूपमा अस्पष्ट छ । 

चीनले ताइवानलाई आफूबाट विभाजित भएको एउटा प्रान्तको रूपमा व्यवहार गर्दै आएको छ, जबकि ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न मुलुक ठान्छ । 

ताइवानसँग अमेरिकाको कुनै कूटनीतिक सम्बन्ध छैन तर उसलाई लामो समयदेखि हतियार बिक्री गर्दै आएको छ । 

बाइडेनको अभिव्यक्तिप्रति ताइवानको भनाइ तटस्थ छ । उसले  चीनको दबाबको सामु पनि नझुक्ने र अमेरिकी समर्थनबाट उत्साहित नहुने जनाएको छ ।