प्रचण्ड जिपलाइनमा सरर...

प्रचण्ड जिपलाइनमा सरर...

न्युज कारखाना  |  समाचार  |  कार्तिक ५, २०७८

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति, नातिनीसहित पुगेका प्रचण्ड आफैँले क्लासिक जिपलाइनको अनुभव लिएका छन् ।

साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ ।

सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भूपेश श्रेष्ठले वर्ल्ड वाइड एड्भेन्चर प्रालिमार्फत धुलिखेल जिपलाइन, रिसोर्ट र एडभेन्चर पार्क संचालनमा ल्याएका छन् ।

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल)देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल)सम्मको जिपलाइन दूरी एक हजार १०० मिटर रहेको छ । भर्टिकल ड्रप २४० फीट रहेको जिपलाइन ७० किलोमिटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ ।

काठमाडौंबाट करिब ३५ किलोमिटर दूरमाी रहेको जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रूपमा सुरु भएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिपलाइनको ल्याण्डिङ स्टेसन छ । क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ ।

खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फुर्बीच्याचुलगायताका हिमालसमेत अवलोकन गर्न सकिनेछ ।