प्रधानन्यायाधीशले आफूलाई तोकेनन् इजलास

प्रधानन्यायाधीशले आफूलाई तोकेनन् इजलास

न्युज कारखाना  |  समाचार  |  कार्तिक ८, २०७८

कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारदेखि आफूलाई मुद्दा सुनुवाइवाट अलग राख्न खोजेको सन्देश दिएका छन् । 

सर्वोच्च अदालतका १४ जना न्यायाधीशको असहमतिका बाबजुद प्रधानन्यायाधीश जबराले सोमबारका लागि ७ वटा इजलासका लागि २१६ वटा मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । 

आफूसँग असन्तुष्ट १२ जना न्यायाधीशका लागि मुद्दाको पेसी तोकेका राणाले आफूलाई भने इजलासमा मुद्दा तोकेका छैनन् । उनको कार्यशैलीप्रति असहमति जनाउँदै सर्वोच्च अदालतका १४ जना न्यायाधीश मुद्दा सुनवाइ छाडेर आन्तरिक छलफलमा छन् । 

५ जना बिदामा बसेका छन् भने १४ जना प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने भन्दै छलफलमा छन् । यसका कारण सोमबार (आज) सर्वोच्च अदालतमा कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेको छैन । न्यायाधीशहरू छलफलमा जुटेका बेला नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनसमेत यतिबेला रणनीति बनाउन बेग्लाबेग्लै बैठक बसिरहेका छन् ।