जापानी राजकुमारी माकोले विवाहका लागि त्यागिन् राजकीय पदवी

जापानी राजकुमारी माकोले विवाहका लागि त्यागिन् राजकीय पदवी

एजेन्सी  |  साहित्य  |  कार्तिक ९, २०७८

अन्ततः जापानी राजकुमारी माकोले मंगलबार आफ्ना प्रेमी केई कुमुरोसँग विवाह गरेकी छन् । विवाहलगत्तै उनको जापानको राजकीय पदवी पनि गुमेको छ । राजपरिवारको सहमतिपछि राजपरिवारबाहिरका व्यक्ति कोमुरोसँग माकोको विवाह सामान्य तरिकाले भएको हो । 

जापानको राजपरिवारका सदस्यले सर्वसाधारणसँग विवाह गरेमा स्वतः राजकीय हैसियत समाप्त हुन्छ । महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ भने पुरुषलाई यो बाध्यता छैन । माकोले कुमुरोसँगको विवाहका लागि राजकीय पदवी त्याग्ने बताउँदै आएकी थिइन् । 

माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो छोरी हुन् । विद्यावारिधि गरिरहेकी उनी अनुसन्धानकर्ताको रूपमा काम गर्दै छन् । 

माको र कुमुरो लामो समयदेखि प्रेम सम्बन्धमा थिए  । उनीहरूको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो ।  

३० वर्षीय कुमुरो अमेरिकामा अधिवक्ताको रूपमा काम गर्छन् । विवाहपछि माको पनि अमेरिका नै बस्नेछन् । यस जोडीको सन् २०१७ मा इङ्गेजमेन्ट भएको थियो । सन् २०१८ मा विवाह गर्ने योजना रहे पनि माकोकी हुनेवाला सासूको आर्थिक लफडाका कारण स्थगित भएको थियो । 

जापानको क्योदो समाचार संस्थाका अनुसार यस जोडीले आजै पत्रकार सम्मेलनको आयोजना गर्दै छ ।