सिनेटरको यौन दुर्व्यवहारमा परेकी हिलारीकी सहयोगीको खुलासा: चुम्बनपछि मेरो मुखभित्र उसले जिब्रो राख्यो

सिनेटरको यौन दुर्व्यवहारमा परेकी हिलारीकी सहयोगीको खुलासा: चुम्बनपछि मेरो मुखभित्र उसले जिब्रो राख्यो

एजेन्सी  |  विदेश  |  कार्तिक १०, २०७८

अमेरिकामा डेमोक्र्याटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छिन् ।

हिलारीकी सहयोगी हुमा अबेदिनले एक राजनीतिज्ञले सन् २००० को मध्यतिर आफूलाई घरमा बोलाएर सोफामा यौन दुर्व्यवहार गरेको बताएकी हुन् । 

सोफामा आफूसँग टाँसिएर सिनेटरले चुम्बन गर्न खोजेको र आफू घरबाट भागेको हुमाले आरोप लगाएकी छन् । आफ्नो पुस्तक बोथ/एन्डः अ लाइफ इन मेनी वर्ल्ड्समा उनले यस्तो आरोप लगाएकी हुन् । सो पुस्तक अर्को साता प्रकाशन हुँदै छ । 

चिया खाने क्रममा सिनेटरले गरेको दुर्व्यवहारलाई उनले पुस्तकमा यसरी उल्लेख गरेकी छन्, ‘उसले मतर्फ तन्किएर मेरो काँधमाथि बायाँ हात राख्यो र चुम्बन गर्‍यो र मेरो मुखभित्र जिब्रो राखेर यौन दुर्व्यवहार गर्‍यो । 

हुमा हिलारीकी नजिककी विश्वास पात्र हुन् । हुमालाई क्लिन्टनले एक पटक आफ्नी दोस्रो छोरी भनेकी थिइन् । क्लिन्टन सिनेटर हुँदा उनको कार्यबारे वर्णन गर्दा आफूमाथि यौन दुर्व्यवहार भएको उनले उल्लेख गरेकी छन् । 

४५ वर्षीया हुमाले दुर्व्यवहार गर्ने सिनेटरको नाम र पार्टीमा उनको आबद्धताबारे केही खुलाएकी छैनन् । 

वासिंगटनमा आयोजित डिनरपछि आफू ती सिनेटरसँग बाहिर निस्किएर उनको घरमा पुगेको उनले उल्लेख गरेकी छन् । त्यसपछि सिनेटरले गरेको चिया खाने प्रस्ताव उनले स्वीकार गरेका थिए ।