बाग्मती प्रदेशसभाको बैठक अनिश्चितकालीन समयका लागि स्थगित

बाग्मती प्रदेशसभाको बैठक अनिश्चितकालीन समयका लागि स्थगित

न्युज कारखाना  |  समाचार  |  कार्तिक १०, २०७८

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालीन समयका लागि स्थगित गरिएको छ । 

प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाक्यले आफूले मार्गप्रशस्त गर्ने जानकारी गराएकी थिइन् । यसपछि सभामुख सानुकमार श्रेष्ठले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । 

शाक्यको राजीनामा घोषणा भएसँगै अब बाग्मतीमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुनेछ । 

प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो । 

माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी)सँग १३, विवेकशील साझाका २, नेमकिपाका २, राप्रपाका २ र जसपाका एक जना सांसद छन् ।