'जाँड खाएर जात नजाने बाहुन' र नेपालका कम्युनिस्टको सन्दर्भ

'जाँड खाएर जात नजाने बाहुन' र नेपालका कम्युनिस्टको सन्दर्भ

रूपक अलङ्कार  |  दृष्टिकोण  |  कार्तिक १०, २०७८

सिद्धान्तको दन्तबझानमा नेपालका राजनीतिक दल, तिनका नेता र सम्बन्धित दललाई स्वार्थभाजन बनाउन बानी परेका बुद्धिजीवीलाई जित्न निकै गाह्रो पर्ने मात्र होइन, सक्दै नसकिने अवस्था छ । चरित्र र व्यवहारमा पत्रु भइसकेको मानिसले पनि मञ्च र मानिस भेटे भने माक्र्सवाद र गान्धीवाद क्षणभरमा पढाइदिन सक्छन् ।

यस चराचर जगत्का सबै आयामको चिरफारमा त्यस्ता टपर्टुइयाँले आफूलाई विद्यावारिधि साबित गरिदिन्छन् । यस्तो रोग राजनीतिको अलिकति गन्धले भेटेको जोकोहीले पनि गरिदिन सक्छ । यस्तो नहोस् पनि किन ? जबकि ‘लोभी गुरु लालची चेला, दुवै नरकमा ठेलमठेला’ भनेझैँ दलको उपल्लो तहदेखि नै गरेरभन्दा बोलेर टिकेका नेताहरूको राजगज छ । 

‘सोही पण्डित गाल बजावा’को मार्गमा राजनीतिको रथ दौडेपछि बोलीले नै चुनाव जित्ने रहेछ । बोलीले नै सरकार बनाउने रहेछ । बोलीले नै देश चलाउने रहेछ । २-४ वटा माइक अगाडि राखेर केही सिद्धान्तका कुरा र केही विपक्षीलाई छुरा चलाएपछि नेता लोकप्रिय । 

बर्मझियाको पेडा पसल र नेपाली राजनीतिक दल उस्तैउस्तै प्रकृतिका छन् । यति भनेपछि राजनीति सेवा नभएर पेडाको व्यपार हो भनेर किन व्यख्या गर्नु पर्‍यो र ? बाजेको पेडा पसल, वैद्यनाथ बाजेको पेडा पसल, उही पुरानो बाजेको पेडा पसल भनेजस्तै राजनीतिक पार्टीको नाममा पनि विभिन्न विशेषण लागेकै छ । यस्तो गति दक्षिणपन्थी पार्टीमा भन्दा वामपन्थी पार्टीमा बढी देखिन्छ ।

नेपालमा माक्र्सवादी वा कम्युनिस्ट पार्टी मात्र कति छन् ? विचरा नाम नपुगेर पार्टी नै खारेज भएको तथ्य हाम्रा सामु उपस्थित छ । नेपाल कम्युनिस्ट पार्टीलाई शब्दले नपुगेर कोष्ठक, कमा, ड्यास जस्ता चिह्नको सहारा लिनुपर्ने बाध्यता छ । अब विस्मयादिबोधक चिह्न कहिलेदेखि राख्ने हुन् । 

कम्युनिस्ट पार्टीहरू विचारका लागि फुट्छन् भन्ने कुरा सत्ता र शक्तिमा नपुगुन्जेल मात्र हो । त्यहाँ पुगेपछि उनीहरूले आफ्नो डाहा, इष्र्या, असहिष्णुता र लालचलाई लाज मर्नु गरी देखाइदिन्छन् । अन्तको कुरा छाडौँ, नेपालको अवस्था यस्तै छ ।  

जुुनसुकै पेडा पसलले पनि पेडा बेचेजस्तै कम्युनिस्ट पार्टीले बेच्ने पनि भाषण नै हो । अरूलाई ‘जडसूत्रवादी’ भन्दाभन्दै यिनीहरूको जरा झन् पाताल पुगिसकेको छ । सर्पको मुखमा परेको भ्यागुताले ट्वारट्वार गर्न नछाडेझैँ लोभी र स्वार्थी बनेर सर्पको मुखमा पसेर पनि यिनीहरूले कम्युनिस्ट विचारको ट्वारट्वार भने छाडेका छैनन् । 

प्रचण्ड, केपी, माधव आदि, यिनमा फरक भनेको यिनको नाक र पार्टीको नाम मात्र हो । यिनको चरित्र र व्यवहारमा भिन्नता देख्ने दृष्टि भएको मान्छेलाई त सम्मान गरे पनि हुन्छ । प्रचण्डको ‘गौरवशाली’ पार्टीको पत्रपत्र उप्केर नचिनिने भइसक्यो । यसभन्दा बढी त हुलासको जस्ता पाता टिकाउ देखिन्छ । माधव नेपालको ‘संघर्षको मैदानबाट उठेको नेक्पा एमाले’लाई उनी आफैँले संघर्ष गरीगरी मैदानमै पछारेर आफ्नो भागको चौटो लिएर बसेका छन् ।

‘बिलो लिएझैँ सरमा उनेर, यो पार्टी(देश) बाँढ्ने चिज हैन हेर’ भनेर माधव घिमिरेले लेखेको कविता बिचरा माधव नेपालले पढ्नै पाएनन् । आखिर नाम मिलेर मात्र हुने के रहेछ र ! दुई तिहाइको सरकारलाई हेप्नी ? हेप्नी ? भन्दाभन्दा केपीले आफू कहिले बालुवाटारबाट बालकोट पुगे, थाहै पाएनन् । 

‘विषकुम्भ पयोमुखम्’ भनेर अरूलाई होच्यइरहने बाबुराम पनि ‘हृदि हलाहलम् विषम्’ नै रहेछन् भन्ने कुरा समयले प्रमाणित गरिसक्यो । नेपालमा यति धेरै कम्युनिस्ट पार्टी बनेको बिचार नमिलेर होइन, पद र प्रतिष्ठा नमिलेर हो भन्ने कुरा नबुझ्नेले केही पनि बुझेको छैन भनेर बुझ्नुपर्छ । 

माक्र्सवाद भनेको वैज्ञानिक विचार हो । जीवन र जगत्लाई नवीन शिराबाट विश्लेषण गर्ने पद्धति हो र समाज विकासको प्रक्रियालाई सकारण पर्गेल्ने र आवश्यक ठाउँमा परिमार्जन गर्ने विधि हो । तमाम विभेद, दमन, शोषण र उत्पीडनको विरोध हो, समग्रमा मानवहितको साधन हो ।

यस्तो विचारलाई मार्गदर्शक सिद्धान्त मान्ने यत्रा पार्टी, कार्यकर्ता र मतदाता भएको देश यति बेला धेरै समुन्नत हुनुपर्ने हो । सामाजिक, सांस्कृतिक रूपान्तरणले स्पष्ट रूप लिनुपर्ने हो । जातीय, क्षेत्रीय, धार्मिक, भाषिक, लैंगिक जस्ता असमानताहरू ठाडो पुच्छर लगाएर भाग्नुपर्ने हो । जनता स्वाभिमानी र स्वावलम्बी बन्नुपर्ने हो ।

त्यस्तो केही भएको छ त उल्लेख्य रूपमा ? त्यसैले माक्र्सवाद नेपाली कम्युनिस्ट पार्टीहरूको देखाउने दाँत मात्र हो, चपाउनका लागि यिनीहरूले अरुकै दाँत सापट लिएका छन् । 

यति धेरै पार्टी, यति धेरै नेता, के यिनले देश बनाउलान् त ? देश समृद्ध होला ? जनता सुखी होलान् ? यसको केही आधार छ ? धेरै पार्टी खोलिनु र धेरै उद्योगधन्दा खोलिनु उस्तैउस्तै हो त ? राजनीतिक दलमा अनुशासनको ह्रास हुँदा केन्द्रदेखि गाउँसम्म अराजकता बढेको त हामी सबैले देखेकै छौँ । यहाँ त ‘ज्यादा जोगी से मठ उजाड’ भन्ने उखान चरितार्थ भएको छ । प्रधानमन्त्रीले मन्त्री त के कार्यालय सहयोगीसमेत नियुक्त गर्न एक्लै नसक्ने स्थिति बनेको छ । 

‘दक्षिणपन्थी पदका लागि फुट्छन्, वामपन्थी विचारका लागि फुट्छन्’ भनेर खडा गरिएको भ्रमको खम्बा पनि अब ढलिसक्यो । कम्युनिस्ट पार्टी विचारमा कतिसम्म कटिबद्ध छ भन्ने कुरा उसको कटीबाट फुस्केको धोतीले जगजाहेर पारिरहेको छ । गैरवामपन्थीहरू पदका लागि फुट्छन् भन्ने कुरामा विवाद नगरौँ, इतिहास त्यस्तै छ । धेरै दक्षिणपन्थी पार्टीहरू सत्ताबाहिर रहेकाले उनीहरूको जुँगा उखेल्नु आवश्यक छैन ।

तर, कम्युनिस्ट पार्टीहरू विचारका लागि फुट्छन् भन्ने कुरा सत्ता र शक्तिमा नपुगुन्जेल मात्र हो । त्यहाँ पुगेपछि उनीहरूले आफ्नो डाहा, इष्र्या, असहिष्णुता र लालचलाई लाज मर्नु गरी देखाइदिन्छन् । अन्तको कुरा छाडौँ, नेपालको अवस्था यस्तै छ ।  

‘जाँड खाएर बाहुनको जात जाँदैन’ भनेको सुनेको थिएँ । उसलाई मानिसहरूले ‘जँड्याहा बाहुन’ भनेरै चिन्छन् । जँड्याहा बाहुन नै भनेपछि उसको जात रही नै रह्यो । त्यस्तै अवस्था नेपाली कम्युनिस्ट पार्टीहरूको पनि छ । यिनीहरू प्नि सिद्धान्तच्युत छन्, कम्युनिस्टको चरित्रले रहित छन् । कमिसन र स्वार्थको जाँड (यसलाई ‘होली वाइन’ सम्झे पनि हुन्छ, नसम्झे पनि हुन्छ)मा डुबेका छन् तर पनि नामका कारण यिनीहरू कम्युनिस्ट नै रहिरहेकै छन् ।