असन्तुष्ट न्यायाधीशहरू चौथो दिन पनि साढे ११ बजे नै बैठकमा बस्ने

असन्तुष्ट न्यायाधीशहरू चौथो दिन पनि साढे ११ बजे नै बैठकमा बस्ने

न्युज कारखाना  |  समाचार  |  कार्तिक १०, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै अघोषित इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरू बिहीबार पनि आन्तरिक छलफलमा बस्ने भएका छन् ।

बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले बुधबारको छलफल कुनै निष्कर्षमा पुग्न नसकेको न्यायाधीश हरिकृष्ण कार्कीले जानकारी दिए ।

‘मंगलबार पूर्वन्यायाधीशको निधनले शोकमा रहेकाले छलफल निष्कर्षमा पुग्न सकेन । त्यसैले हामी भोलि बिहान साढे ११ बजेतिर छलफलमा बसेर नयाँ धारणा बनाउनेछौँ’, उनले भने । सर्वोच्च अदालतका १८ जना असन्तुष्ट न्यायाधीशहरूले लगातार तेस्रो दिन पनि मुद्दाको सुनुवाइ गरेनन् । मुद्दाको सुनुवाइ गर्ने बेला उनीहरू आन्तरिक छलफलमा बस्ने गरेका छन् ।