'अफगानिस्तानमा आईएसको पत्तासाफ हुन्छ'

'अफगानिस्तानमा आईएसको पत्तासाफ हुन्छ'

एजेन्सी  |  विदेश  |  कार्तिक १२, २०७८

केही साता अघिसम्म अफगानिस्तानको पूर्वी सहर जलालाबादका चोकमा मानिसहरूको शव भेटिन्थ्यो । कसैलाई हात-खुट्टा काटेर गोली ठोकेर फालिएको हुन्थ्यो भने केहीलाई सडकमै झुन्ड्याइन्थ्यो ।

हत्या गरिएकामध्ये धेरैका गोजीमा कागजको एउटा बिटो हुन्थ्यो । त्यहाँ लेखिएको हुन्थ्यो- 'अतिवादी मुस्लिम समूह आईएसको सदस्यविरुद्ध सरकारलाई गुप्तचरी गरेको अभियोगमा भौतिक कारबाही ।'

ती त्रासदीपूर्ण हमलाको जिम्मा कसैले लिँदैनथ्यो बरु त्यस्ता गैरन्यायिक हत्यामा तालिबानको संलग्नता रहेको आशंका गरिन्थ्यो किनकि अफगानिस्तानमा आईएसको तुलनामा तालिबानकै दबदबा थियो । तर, अहिले परिस्थिति भिन्न छ ।  

तालिबानको सत्तापलटपछि अफगानिस्तान तुलनात्मक रूपमा ‘शान्त’ छ । तर, कतिपय स्थानमा आईएसले आफ्नो प्रभाव देखाउन हिंसात्मक हमला गरेका छन् । आईएसलाई ‘निर्मूल’ गर्ने तालिबानले अठोट गरेको छ । 

पछिल्लो समय जलालाबादमा तालिबान आईएसमाथिको दमनमा उत्रिएको छ । स्थानीय स्तरमा ‘दायस’ भनिने आईएसले अहिले पनि तालिबान शैलीमा आक्रमण गरेर भाग्न थालेका छन् । 

आईएस र तालिबान एकअर्कोमा आरोप-प्रत्यारोपमा उत्रिएका छन् । आईएसले तालिबानलाई आफ्नो अडान छाडेको आरोप लगाएको छ भने तालिबानले ‘जघन्य हत्या’मा उत्रिएको बताएको छ । 

नानगरहार प्रान्तका तालिबान गुप्तर सेवाका प्रमुख डा. बसिरले आईएसलाई सो प्रान्तबाट पत्तासाफ गर्न थालेको बताउँछन् । तालिबानले सयौँ आईएस लडाकु पक्राउ गरेको उनको भनाइ छ । 

डा. बसिर र सम्पूर्ण तालिबानले नै अफगानिस्तानमा आईएसको पकड गुम्दै गएको बताउँछन् । अफगानिस्तानको युद्ध अन्त्य भएको र देश शान्तिको पथमा हिँडिसकेको तालिबानको दाबी छ । अब अफगानिस्तानमा आईएसको अस्तित्व समाप्त पार्ने डा. बसिरको दाबी छ ।