'जोडा फुटाउने लौरो': बाल मानसिकतामा देखिने स्वाभाविक माया, प्रेमको अस्वाभाविक छटा

फर्कलान् र ती दिनहरू

'जोडा फुटाउने लौरो': बाल मानसिकतामा देखिने स्वाभाविक माया, प्रेमको अस्वाभाविक छटा

हरिविनोद अधिकारी  |  अन्तर्मन्थन  |  कार्तिक १३, २०७८

संसारमा सबैभन्दा बढी मानिसले आफैँलाई माया गर्छ । आफ्नोपनको रक्षा गर्छ । अपनत्वको महसुस सम्पूर्ण प्राणीमा हुने रहेछ । मलाई त्योे बेलामा अचम्म लाग्थ्यो- सैयौँ गाईहरू धुलाम्मे वातावरण पार्दै जब घर आउँथे, आफ्ना बाच्छाबाच्छीहरूलाई भेट्न अरूभन्दा अलिक पहिले गोठमा, त्यहाँ अरू पनि त बाच्छा थिए तर कसरी आफ्नै आमाको छेउमा गएर दूध खान्छन् र यसो सँुघेर आफ्नो र अर्काको पत्ता  लगाउँछन् ?

मधेसमा गाईहरू पनि सबै सेता हुन्थे । साँच्चै भनौँ भने गोठाला जानेहरूलाई पनि कुन आफ्नो गाई हो र कुन अरूको गाई हो, थाहा पाउन नसक्ने अवस्थामा गाईहरू आफ्नाआफ्ना बासस्थानमा सिधै आउँथे । आफ्ना बच्चालाई कसरी चिने होलान्, तिनको कुनै परिच दिने आधार हामी मानिसहरूसँग पनि छैन तर बाच्छा पत्ता लगाउन कराउँदै आउँछन् र आफ्नो रन्केको फाँचो चुसाएर सन्चो मान्छन् । अझ उनीहरूको त्यो अपनत्वलाई हामी मानिसहरूले खप्न सक्दैनौँ र माउलाई बाँधेर, खुट्टी लगाएर या लात्ताले हान्ने हुनाले खुट्टालाई नजिकैको कुनै खाँबो वा बलियो किलोमा बाँधेर मात्र केहीछिन दूध चुस्न दिएर, माउ पग्रिएपछि झिकेर उसको भाग खानलाई दुहुन थाल्छौँ । 

एक प्रकारले त्यो उनीहरूको अपनत्वलाई शोषण गरेको हुन्थ्यो त अर्कोतिर गाई या भैँसी पालेर रक्षा गरेबापतको  उपलब्धि मागेको ठहरिन्छ । मैले यहाँ भन्न खोजेको के हो भने, ती झट्ट हेर्दा अबोध अनि जता डाहोेर्‍याएर लग्यो, त्यतै जाने जन्तुमा पनि आफ्नो गोठ, आफ्नो बच्चा, आफन्त भन्ने व्यक्त धारणा अव्यक्त तरिकाले देखाउँदा रहेछन् । मनोविज्ञानले पनि भन्दो रहेछ- त्यही प्राणी मात्रमा रहेको अपनत्वको धारणाले आजसम्मका विकास, प्रगति, विध्वंश सबै निम्त्याएको हो । 

फ्रायडले प्राणी मात्रमा देखिने यौन भावनालाई केलाउँदा मानिसमा रहेको व्यक्त, अव्यक्त यौन भावनाले मानिस या सजीव प्राणीलाई जीवनको बाटोमा डोहोर्‍याएको ठानेका छन् । हाम्रो स्मृति र श्रुतिले व्यक्त गर्ने ठाउँमा या पुराणमा भनिएको छ- प्राणी मात्रमा आहार, निद्रा, भय, मैथुनको स्थान प्रबल छ । हुन पनि सचेत व्यक्तिमा मैथुनको चाहना (यसलाई छाडा अर्थमा नलिने अर्थमा) या जेहेनमा सबैभन्दा बढी थोपरिएको भावना हो भन्ने मानिन्छ । त्यति मात्र होइन, जीवन रथको गति दिने ऊर्जा हो भन्ने पनि मान्न सकिन्छ । सायद त्यही भएर हो, मानिसहरूका  लागि छाडा समाज नहोस् भनेर विवाहको संस्थागत सम्बन्धको व्यवस्था संसारभर आफ्नाआफ्ना तरिकाले भएका मान्न सकिन्छ । 

लोकोक्तिमा एउटा प्रसंग सुनेको थिएँ मैले सानामै गुरुले भन्नुहुन्थ्यो । यौनका बारेमा । गुरु साम्बभक्त एक प्रकारले सिद्धिप्राप्त गरेका विद्वान् हुनुहुन्थ्यो र उहाँले आफ्नो समाज रूपान्तरणका कुरा पुराणमार्फत् भन्नुहुन्थ्यो । उहाँमा पण्डित माधवराज जोशी, मुरली पण्डितहरूको पुराण वाचनको प्रभाव थियो भने महापण्डित राहुल सांकृत्यायनको समाज परिवर्तनका सम्बन्धमा लेखिएका तर्कहरूलाई महत्त्व दिनुहुन्थ्यो ।

गुरुले कुनै प्रसंगमा भन्नुभएको सम्झन्छु, एक पटक कृष्णले पाण्डवहरूको धारणा बुझ्न भन्नुभएको थियो रे कुन्तीका विषयमा । कृष्णले सोधेका रहेछन् सर्वप्रथम सहदेवलाई, ‘हे सहदेव, मेरी फुपू तथा तिम्री विमातृ कुन्ती विश्व सुन्दरी हुुनुहुन्छ । तिमी पनि साह्रै राम्रा र गुणी छौ । तिमीलाई आफ्नी रूपवती माता देख्दा कतै कामदेवले सताएको त छैन कहिल्यै ?’

सहदेवले यो कुरालाई पचाउन सकेनन् तर कृष्णलाई यति मात्र भने रे, ‘हे कृष्ण, अरूले यो कुरा सोधेको भए अहिलेसम्म ऊ जीवित पनि रहने थिएन होला, मैले उसको हत्या गरिसकेको हुन्थेँ होला तर तपाईंले सोधेकाले मात्र विरोध जनाउन सक्छु र यो मेरा लागि कहिल्यै सपनामा पनि सोच्ने कुरा नभएको विन्ती गर्छु ।’

कुरो तत्काललाई सिद्धियो र अर्कोलाई पनि त्यसै गरेर माफी माग्ने ठाउँमा चित्त बुझाएँ । ‘जोडा फुटाउने लौरो’ भनेर मैले नाम दिएको थिएँ तर जोडा फुटाउने चाँजो परेको थिएन । पछि मैले सुनिता मिसलाई यो कुराको जानकारी गराएँ किनभने त्यसपछि कसैले पनि आई लभ यु लेखेको थिएन र त्यस्तो कागज भेटिने कुरै थिएन ।

यही प्रश्न नकुललाई गरियो र उनले पनि सहदेवकै जस्तो उत्तर दिए । अर्जुनले त झन् यसो पनि भने रे, ‘यदि यो प्रश्न सोध्ने नारायण हुँदैनथे भने मेरो गाण्डिवको वाण यतिबेरसम्म सोध्नेको छाती वारपार गरिसक्ने थियो । तर, तपाईं वासुदेव र मेरा अनन्य मित्र तथा गुरु भएकाले मात्र भन्न सक्छु, यस्तो प्रश्न नै तपाईंले सोध्ने धृष्टता किन गर्नुभयो ? सुन्दा पनि सरासर पापको भागी हुने प्रश्न हो यो । उहाँ मलाई जन्म दिने माता हुुनुहुन्छ र उहाँप्रति मेरो अगाध माया छ, श्रद्धा छ र यस्तो कुरा सोच्न पनि सक्दिनँ ।’

अनि, पालो आयो भीमको । भीमले त कृष्णलाई पिट्न भनेर लखेटेका पनि थिए रे ! कृष्ण भाइ भएकाले भागेको जस्तो पनि गरेका रहेछन् । अब पालो आयो युधिष्ठिरको । युधिष्ठिरले कुनै आवेशमा नआई भनेछन, ‘भगवान्, संयम नै मानवको सबैभन्दा ठूलो गहना हो । म राजा पनि भएकाले कानुनी हिसाबले पनि यसबारेमा सोच्नुपर्ने हुन्छ । मनमा उठ्ने विभिन्न तरंगहरूलाई मानिसले त हो नि संयमतापूर्वक आफूलाई सम्हाल्ने । मेरा मनमा पनि आमालाई देख्दा विश्व सुन्दरी हुनुहुन्छ जस्तो लाग्छ । मनमा आउन सक्ने विकासलाई मनमै तत्कालै सम्हालेर भन्छु कि उहाँ त मेरो जन्म दिने आमा हुनुहुन्छ ।’

अनि कृष्णले भन्नुभएछ, ‘वास्तवमा तपाईंको भनाइ नै सत्य हो किनभने मैले आज यो प्रश्न सोधेको नै मानव जातिमा या प्राणीमा देखिने यौनसम्बन्धी भावनाको संवेदनाका बारेमा थियो । तपाईंले आफ्ना मनका कुराहरूलाई नढाँटी भन्नुभयो र त्यसले मलाई पनि नयाँ ज्ञान प्राप्त भयो ।’

मैले यो कुरा गुरुबाट सुनेको हुँ, महाभारतको अध्ययनमा त मैले यो प्रसंग भेटिनँ । हुन सक्छ, पुराणहरूको कुनै भागमा वा कतै होला । तर, गुरुले भन्नुहुन्थ्यो फ्रायडका बारेमा पनि । र, भन्नुहुन्थ्यो- यौनका कारणले नै संसारका सबैभन्दा ठूला युद्ध भएका हुन् ।

रामायण या महाभारतको या त्यसपछिका जति पनि युद्ध भए, तिनको पछिल्तिरको भित्री कारण खोतल्ने हो भने महिला र पुरुषका बीचको सम्बन्ध, विवाद या राज्यका बीचमा त्यस्तै विवाहका कारणले भएको बुझ्न सकिन्छ । महाभारतमा धेरै कारणहरू होलान् महान् युद्धका, राज्य पनि होला तर राज्यका बारेमा उठेका प्रश्नहरूको पछिल्तिरको मुख्य कारण नै वैध सन्तान या अवैध सन्तान भन्नेमा छ ।

व्यासले नढाँटी भनेका छन्, ‘अम्बिका र अम्बालिकाबाट जन्मेका सन्तान विचित्रवीर्यका नभएर मेरा हुन् ।’ तर, त्यस बेलाको राज्यनीतिले नियोगबाट सन्तान जन्माउने काम वैध थियो, नीतिसम्मत मानिन्थ्यो । जसले खेती लगाए पनि खेत जसको हो, उसकै बाली मानिन्थ्यो र ती रानीहरू र दासी पनि विचित्रवीर्यकै थिए । त्यसैले धृतराष्ट्र, पाण्डु र विदुर सैद्धान्तिक रूपमा उनी मरेको जति वर्ष भए पनि उनकै पत्नीहरूबाट जन्मेकाले उनकै मानिएका थिए । तर, पाण्डवहरूका बारेमा भने पाण्डुबाट सन्तान जन्मिन नसक्ने भएकाले ती सन्तान पाण्डुका होइनन्, तिनलाई पाण्डुको राज्य अंश दिन मिल्दैन भन्ने कुराले विवाद चर्केको हो । 

भनिन्छ, हिटलरमा देखिएको यहुदीप्रतिको चरम अविश्वास र घृणाको कारण थियो- कुनै यहुदी रमणीले उनलाई प्रेममा धोखा दिएकी थिइन् । त्यस्तै, स्टालिनमा त्यही कुरा दोहोरिएकाले त्यसबेलाका दुईवटा तानाशाहहरूको अचम्मको समानता देखियो । हिटलर र स्टालिन एकअर्काका शत्रु भए पनि उनीहरूको घोषित शत्रु वर्गचाहिँ निरापराध यहुदी जाति रह्यो । उनीहरूको दमनले विश्वमा एउटा राज्य इजरायलको जन्म भयो । इजरायलको जन्मले प्यालेस्टाइनहरूको अधिकार कुण्ठित भयो र अझै त्यसको तुष बाँकी छ । 

प्राणी मात्रमा रहने संवेदनशीलतालाई मानिसले चाहिँ बोलेर संप्रेषण गर्छ, लिपि बनाएको छ, लेखेर पनि आफ्ना कुराहरू बाहिर ल्याउँछ र इशाराले आफ्ना कुराहरू संप्रेषण गर्छ । मैले विद्यालय र महाविद्यालयमा पढाएको करिब ५ दशक पुग्न लाग्यो । खासगरी विद्यालयमा पढाउँदा मेरा निकटतम साथीहरू भनेका कक्षा ९ र १० का किशोर किशोरीहरू हुन्थे किनभने मैले उनीहरूको व्यावसायिक विषय लेखा, पत्रकारिता र पछि स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा पनि पढाएँ । 

महाविद्यालयमा खासगरी शिक्षाका विभिन्न विधा, दर्शन, मनोविज्ञान, पाठ्यक्रम, सामाजिक न्याय शिक्षा पढाएँ । खासगरी किशोर किशोरीका बीचमा हुने कक्षागत विवाद, झगडा भर्खरै जान्न थालेको यौनका बारेमा हुने गर्छ । जन्मँदै प्राप्त चेतनाको पहिलो पक्ष भनेको आमाको माया हो र त्यसपछिको चेतना भनेको यौनिक चेतना हो । जसले पनि त्यो चेतनालाई अनुभूत गरेको हुन्छ । 

जोडा फुटाउने लौरो

मलाई लाग्छ, विश्वभरका विद्यालयमा किशोर किशोरीहरूको बीचमा हुने विवाद, झगडाका कारणहरूमध्ये ७५ प्रतिशत भाग यौनिक चेतना र त्यसबाट सिर्जित काल्पनिक कारणहरू तथा त्यसका परिणामबाट भएका हुन्छन् । यो कुनै अनुसन्धानबाट प्राप्त परिणाम त होइन तर माया, प्रेम, किशोर किशोरीहरूको यौनप्रतिको जिज्ञासा अनि विपरीत लिंगप्रतिको आकर्षणले या समलिंगीप्रतिको अभिमुखीकरणले निम्त्याउँछ ।

होस्टेल भएका ठाउँमा समलिंगी अभिमुखीकरणतर्फ डोर्‍याउँछ । सहशिक्षा भएका विद्यालयमा होस् कि केटा वा केटी बेग्लै राखेर पढाउने विद्यालयमा होस्, यौनको चर्चा स्वाभाविक रूपमा हुन्छ । अझ केटा मात्र पढ्ने वा केटी मात्र पढ्ने विद्यालयमा विपरीत लिंगीसँगको चिनजान, भेटघाट र उठबसको प्रसंग झनै बढी चर्चाको विषय बन्छ । सहशिक्षामा पनि रोलनम्बरअनुसार बस्न अहिले पनि नमानेका देखिन्छ । केटा एकातिर अनि केटी अर्कोतिर बसेका प्रशस्तै पाइन्छ नेपाली सामुदायिक विद्यालयहरूमा । 

म खासै विद्यार्थीहरूलाई शारीरिक दण्ड दिनुपर्छ भन्ने मान्यता राख्दिनथेँ र अहिले पनि कुटेर या विद्यालयबाट विद्यार्थी निकालेर मात्र समस्याको दीर्घकालीन समाधान हुँदैन भन्ने मान्यता राख्छु । तर, किशोर वयमा नबुझीकनै विपरीत लिंगीप्रति आउने प्राकृतिक आकर्षणको घेराका पस्दा त्यसको परिणामका बारेमा जानकारी दिनु हामी शिक्षकको कर्तव्य हो भन्ने लाग्छ । माया टुसाउनु, प्रेम हुन थाल्नु अपराध होइन तर त्यसको व्यवस्थापन गर्ने कुरा भनेको समयको व्यवस्थापन हो, जीवनको व्यवस्थापन हो र मेरो आफ्नो अनुभवमा त्यसको राम्रो जानकारी दिनका लागि नै आजभोलि स्वास्थ्य शिक्षाको पढाइलाई माध्यमिक तहमा एकीकृत रूपमा राखिएको हो विश्वभर ।

तर, विद्यार्थीहरूमा आउने संवेदनशीलतालाई सम्झाएर, बुझाएर र भविष्यको परिणामका बारेमा जानकारी दिएर समाधान गर्नुपर्छ । अहिले नाम त नलिनु नै बेस हुन्छ तर मैले स्मरणमा राखेको एउटा घटना लेख्छु । 

कक्षा ९ का दुईवटी छोरीहरूले या भनौँ छात्राहरूले आफ्नो कक्षा शिक्षकलाई एउटा जानकारी दिएछन्, उनीहरूको झोलामा ‘आई लभ यु’ लेखिएको कागज सधैँ राखिएको हुन्छ । तर, कसले राखेको हो ? थाहा छैन । कुनै केटाले केही भनेको पनि थाहा छैन । कसैले जिस्क्याएको पनि थाहा छैन । 

स्वाभाविक रूपमा सहशिक्षालयमा बोल्ने, कुरा गर्ने, जिस्किने र ठेलमठेल गर्ने, सँगै खाजा खाने, कक्षामा सँगै बस्नुपर्ने मामुली मानिन्छ । तर, कसैले चुपचाप आई लभ यु लेखेको अनि कुनै संकेत पनि नदिएकोलाई भने हामीले अचम्म मान्यौँ । त्यसको खोजी गर्ने जिम्मा त स्वाभाविक रूपमा कक्षा शिक्षकले लिने नै भयौँ ।

कक्षा शिक्षक हुनुहुन्थ्यो सुनीता गुरुङ । उहाँ स्काउटको पनि प्रशिक्षक भएकाले यस्ता धेरै घटनाका बारेमा जानकारी राख्नुहुन्थ्यो । अहँ, पत्ता लाग्दैन । तर, प्रत्येक दिन ती दुईवटी छोरीहरूको झोलामा आई लभ यु भनेर लेखेको सानो कागज भने हुन्छ ।

एक महिनाजति भएपछि त्यो कुरा स्टाफ रुममा गाइँगुइँ भयो र हामीले पनि जिज्ञासा राख्यौँ, के भएको हो ? केही भएको थिएन तर किशोरीहरू अलमलमा परेका थिए- को होला त्यस्तो लेख्ने ?

म प्रार्थना गराउँथे अर्थात् एसेम्ब्लीको संयोजन गर्थें सामान्यतया । एसेम्ब्लीको महत्त्व हो- विद्यार्थीहरूको उपस्थितिलाई नियमित गर्ने, आवश्यक सूचनाहरू एकै पटक दिन सकिने र राम्रो काम गर्ने विद्यार्थीहरूको पुरस्कार प्रदर्शन गर्दै स्याब्बासी दिने थपडी बजाएर । धेरै खराब काम गर्नेलाई पनि बोलाएर फेरि त्यस्तो नगर्ने वाचा गराउने । कन्फेसन गराउने । तर, विद्यार्थीको बेइज्जत गर्ने हिसाबले होइन ।

सूचनाका लागि सजिलो उपाय हुन्थ्यो । हामी शिक्षकहरूलाई सहयोग गर्ने कक्षा १० का विद्यार्थीहरू र क्याप्टेन, भाइस क्याप्टेनहरूको सहयोगले सबै विद्यार्थीहरूलाई जम्मा गरिन्थ्यो । एक दिन त्यस्तै सहयोगी विद्यार्थीहरूमध्ये दुई जना फेला परे । तर, तिनको नाम लिँदा कोही शिक्षक पनि पत्याउन तयार भएनन् । अरू त अरू, ती किशोरीहरू पनि पत्याउन तयार थिएनन् पछि । तर, मैले पत्ता लगाएँ र कसैलाई केही नभनी मैले अफिसमा मेरो टेबुलमा बोलाएँ किनभने दुवै जना म कक्षा शिक्षक भएको कक्षाका थिए । मेरालागि ती दुवै छोरा समान नै थिए ।

एउटा त मेरो नाताको नै थियो र मेरो अभिभावकत्वमा भर्ना भएको थियो । त्यो विद्यार्थी यति भलाद्मी थियो, ज्ञानी थियो र जेहेनदार थियो कि उसले बाल दिवसमा पाइने सबै खालका पुरस्कारहरू विद्यालयमा ल्याएको थियो- साहित्यिक विधामा, हाजिरी जबाफमा र वाद विवादमा । अर्को थियो, उपत्यकाको ब्याडमिन्टन च्याम्पियन । एकदम अनुशासित अनि पढ्नमा लगनशील ।

उनीहरू मलाई सहयोग गर्ने भनेर सबै कक्षाबाट विद्यार्थीहरूलाई एसेम्ब्लीमा जम्मा गर्न जान्थे । त्यही बेलामा कोही नभएको मौकामा आई लभ यु लेखेको कागजको टुक्रा ती दुईवटी छोरीको झोलामा राख्दा रहेछन् । कसैलाई थाहा पनि नहुने, कसैले देख्दा पनि नदेख्ने समय छानेका रहेछन् । कुण्ठाको कारणले होइन, ती छोरीहरू राम्रा त थिए नै, पढ्नमा पनि असल थिए । एउटी छोरी त ब्याडमिन्टनमा केटी जुनियर च्याम्पियन नै थिइन् उपत्यकाका लागि । 

जब मैले उनीहरू कक्षा ९ को कोठामा पसेर केही राखेको देखेँ, मलाई शंका लागेर झोलामा चेक गरेँ, फेला पारेँ र त्यो कागज त्यहीँ राखेर प्रार्थनास्थलमा गएँ । अनि, कक्षा सुरु भएपछि बल्ल यो कुरा फेरि आयो सुनिता मिसकहाँ । मैले तीमध्ये एउटालाई पहिले बोलाएँ र दुई पटक त्यो जोडा फुटाउने लौरोले बिस्तारै हातमा हिर्र्काएँ र हाँस्दै भनेँ, ‘ल भन, मैले यो जोडा फुटाउने लौरोले किन हिर्काएँ होला ?’

ऊ हाँस्दै तर रुन्चे स्वरमा भन्न थाल्यो, ‘सर, अब यो कुरा दोहोरिनेछैन, म माफी माग्छु हजुरसँग ।’

कुरो तत्काललाई सिद्धियो र अर्कोलाई पनि त्यसै गरेर माफी माग्ने ठाउँमा चित्त बुझाएँ । ‘जोडा फुटाउने लौरो’ भनेर मैले नाम दिएको थिएँ तर जोडा फुटाउने चाँजो परेको थिएन । पछि मैले सुनिता मिसलाई यो कुराको जानकारी गराएँ किनभने त्यसपछि कसैले पनि आई लभ यु लेखेको थिएन र त्यस्तो कागज भेटिने कुरै थिएन ।

अनि, हामीले ती दुईवटी छोरीहरूलाई बोलाएर सोध्यौँ, ‘अचेल कसैले लेखेको छ कि छैन ?’

हामीले ती केटाहरूका बारेमा सोध्यौँ तर उनीहरूले ती केटाहरू त उनीहरूका सिनियर दाजुहरू भएका, उनीहरूप्रति कुनै शंका नभएको बताए । अनि, हामीले सही कुरा भन्यौँ र ती केटीहरूसँग ती केटाहरूले माफी मागे पक्कै तर त्यो हल्ला नभई काल्पनिक जोडा फुट्यो ।
क्रमशः