राष्ट्रपतिले अनावरण गरिन् लुम्बिनीमा बहुमूल्य धातुबाट निर्मित बुद्ध मूर्ति

राष्ट्रपतिले अनावरण गरिन् लुम्बिनीमा बहुमूल्य धातुबाट निर्मित बुद्ध मूर्ति

न्युज कारखाना  |  समाचार  |  कार्तिक १४, २०७८

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्ब रुपैयाँ मूल्यको बुद्ध मूर्ति आइतबार अनावरण गरिएको छ । ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी हुन् ।

बुद्धमूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ति राखिएकामा यसले विश्वभर शान्तिको सन्देश फैलाउन ठूलो भूमिका खेल्ने बताइन् । ‘विश्वभरका पर्यटकमाझ शान्ति, अहिंसा र करुणाको सन्देश फैलाउन यसबाट ठूलो मद्दत पुग्नेछ’,  उनले भनिन् ।

राष्ट्रपतिले बुद्धका उपदेशको अनुसरण गरे मात्र विश्वमा शान्ति कायम हुने भन्दै यसलाई सबैले महसुस गर्दै आफ्नो जीवनमा अनुसरण गर्नुपर्नेमा जोड दिइन् । लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रूपमा विकास गर्नुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले यसका लागि लुम्बिनी गुरुयोजना छिटो पूरा गरी लुम्बिनी सर्किटको विकास गर्नुपर्ने बताइन् ।

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले विमानस्थलमा बुद्ध मूर्ति राखेर यसको महत्त्वलाई अझै बढाइएको भन्दै यसबाट विमानस्थलमा ओर्लन पर्यटकहरूले सन्देश बोकेर आउने बताए । उनले विमानस्थल अविलम्ब संचालनमा ल्याउन सरकारले पहल गरिरहेको भन्दै आयोजनालाई जति सक्दो छिटो काम सक्न निर्देशन दिए । छिटो क्यालिब्रेसन फ्लाइट गर्न निर्देशन दिँदै उनले यसका लागि सरकारले के गर्नुपर्छ, सबै गर्न तयार रहेको बताए ।

म्यानमारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित एक हजार ८०० किलो तौल भएको बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो ।

बुद्ध मूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका २ जना मन्त्रीसमेत सहभागी थिए ।  बुद्ध मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ । सो बुद्ध मूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर छ । २ करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति फाउन्डेसनले नेपाललाई उपहार स्वरूप दिएको हो ।