नेपाली कांग्रेस : सभापतिमा उम्मेदवारी दिने सुजाता कोइरालाको घोषणा

नेपाली कांग्रेस : सभापतिमा उम्मेदवारी दिने सुजाता कोइरालाको घोषणा

न्युज कारखाना  |  समाचार  |  कार्तिक १५, २०७८

मोरङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेकी हुन ।

गिरिजाप्रसाद कोइरालाले पनि विराटनगरमा आएर महत्त्वपूर्ण कुराको घोषणा गर्ने गरेको स्मरण गर्दै उनले विराटनगरबाटै उम्मेदवार घोषणा गर्ने बताएकी हुन् ।

कोइराला परिवारबाट सभापतिका तीनजना उम्मेदवार देखियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सबैको इच्छा भएको उत्तार दिइन् । ‘उहाँहरू मात्रै होइन अरूले पनि इच्छा देखाउनुभएको छ । म महिला भएकाले सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएकी छु’, उनले भनिन्, ‘कोइराला परिवारमा पनि थप छलफल गर्छौ ।’

केही समयअघि विराटनगरमा आएका डा।शेखर कोइरालाले पनि सभापतिमा उठ्ने बताएका थिए । महामन्त्रीसमेत रहेका शशांक कोइरालाले पनि सभापति उठ्ने बताइरहेका छन् । 

न्यायालयमा देखिएको समस्यामा भने सरकारले चासो देखाउनुपर्ने उनको तर्क छ । कांग्रेसले पनि अर्ली इलेक्सन चाहेकाले देश चाँडै निर्वाचनमा जाने उनको भनाइ थियो । कोइरालाले अहिलेको गठबन्धन चुनावसम्म नहुने घोषणा गरिन् ।