'मेरो २ प्रतिशत सम्पत्तिले भोकमरी अन्त्य हुन्छ भने टेस्ला बेच्छु'

'मेरो २ प्रतिशत सम्पत्तिले भोकमरी अन्त्य हुन्छ भने टेस्ला बेच्छु'

एजेन्सी  |  विदेश  |  कार्तिक १५, २०७८

विश्वका चर्चित धनाढ्य एलन मस्कले आफ्नो २ प्रतिशत सम्पत्तिले विश्वको भोकमरी समस्या समाधान हुन्छ भन्ने संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको भनाइप्रति आश्चर्य व्यक्त गरेका छन् । सामाजिक संजाल ट्विटरमार्फत् मस्कले विश्व खाद्य कार्यक्रमले यसबारे थप स्पष्ट पार्नुपर्ने आग्रह गरेका छन् ।

यदि साँच्चिकै आफ्नो २ प्रतिशत सम्पत्तिले विश्वको भोकमरी अन्त्य हुन्छ भने टेस्लाको शेयर बेच्न आफू तयार रहेको समेत उनले स्पष्ट पारेका छन् ।

‘मेरो आम्दानीको २ प्रतिशत अर्थात् ६ बिलियन डलरले कसरी विश्वको भोकमरी अन्त्य हुन्छ भनी विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले यही ‘थ्रेड’मा स्पष्ट व्याख्या पार्नुपर्छ, त्यसो हो भने म अहिल्यै टेस्लाको शेयर बेचेर त्यो काम गर्छु । त्यसको लेखा प्रणालीचाहिँ एकदमै पारदर्शी हुनुपर्छ, रकम कसरी खर्च भएछ भनेर जनताले थाहा पाउनुपर्छ’, मस्कले ट्विटरमा लेखेका छन् । पछिल्लो विश्वका सबैभन्दा धनाढ्य व्यक्ति जेफ बेजोसलाई उछिन्दै मस्क नम्बर एक धनाढ्य व्यक्ति बनेका छन् । 

केही दिनअघि औँलामा गन्न सकिने सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले विश्वको भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमका निर्देशकले बताएका थिए । विश्वका खर्बपतिहरूले एकचोटि आफ्नो आम्दानीको केही अंश खर्च गरेमा भोकमरीसँग जुध्न सहज हुने निर्देशक डेभिड बिस्लेले जनाएका थिए ।

‘भोकमरीले ग्रस्त विश्वका करिब ४ करोड २० लाख जनसंख्यालाई खुवाउनका लागि ७ खर्ब २१ अर्ब रुपैयाँ चाहिन्छ, यदि हामीले सहयोग गरेनौँ भने तिनीहरूको मृत्यु हुन्छ’, उनले भनेका थिए ।

टेस्लाका प्रमुख कार्यकारी मस्कको कुल सम्पत्ति २८९ बिलियन अमेरिकी डलर रहेको ब्लुमवर्गले जनाएको छ । मस्कको यो रकमको केवल २ प्रतिशत रकम दान गर्न डब्लूएफपीका निर्देशक बिस्लेले आग्रह गरेका थिए । दक्षिण अफ्रिकामा जन्मिएका धनाढ्य व्यापारी मस्क अमेरिकामा बस्दै आएका छन् । डब्लुएफपीका निर्देशकको यही भनाइप्रति मस्कले आश्चर्य व्यक्त गर्दै जिज्ञासा राखेका हुन् । 

कोभिड- १९ को महामारी सुरु भएपछि अमेरिकी धनाढ्यहरूको आम्दानी दोब्बर भएको इन्स्टिच्युट फर पोलिसी स्टडिजले उल्लेख गरेको छ । बिस्लेका अनुसार कोभिड- १९ र जलवायु परिवर्तन जस्ता भयानक समस्याले गर्दा धेरैै मुलुकहरू भोकमरीको चपेटामा परेका छन् । यससँग जुध्नका लागि विश्वका खर्बपतिहरूले सहयोग गर्नुपर्ने उनको आग्रह छ ।

युद्धग्रस्त अफगानिस्तानको आधा जनसंख्या अर्थात् २ करोड २८ लाख मानिसले एकदमै गम्भीर भोकमरी समस्या सामना गर्नुपरेको विश्व खाद्य कार्यक्रमले सोमबार जारी गरेको रिपोर्टमा उल्लेख छ । बढ्दो बेरोजगारी र तरलता अभावले गर्दा विभिन्न मुलुकले मानवीय संकटको सामना गरिरहेका छन् । रिपोर्टका अनुसार अफगानिस्तानका ५ वर्षमुनिका ३२ लाख बालबालिका जोखिममा छन् ।  

(एजेन्सीको सहयोगमा न्युज कारखानाले तयार पारेको सामग्री)