मुख्यमन्त्री आचार्यले दिए राजीनामा

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

न्युज कारखाना  |  समाचार  |  कार्तिक १५, २०७८

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रदेशसभामा सम्बोधन गरेपछि पदबाट मार्ग प्रशस्त गरेका हुन् ।

आचार्यले विश्वासको मतका लागि गत २४ असोजमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए । यसअघि ७ कात्तिकमा विश्वासको मत विभाजनका लागि बैठक बोलाइएको थियो । तर, एमाले र कांग्रेसले बैठक स्थगन गर्न निवेदन दिएपछि आज (सोमबार)का लागि बैठक बोलाइएको थियो ।

प्रदेश १ मा ९२ सांसद छन् । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादीका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । राप्रपाका एक सांसद छन् ।

विश्वासको मत प्राप्त गर्न आचार्यलाई ४७ सांसद आवश्यक पर्छ । तर, एमालेसँग ४१ जना सांसद भएकाले विश्वासको मत पाउन नसक्ने देखिएपछि आचार्यले पदबाट राजीनामा दिएका हुन् ।

सम्बोधनका क्रममा उनले आफूले पहिल्यै पनि राजीनामा दिन चाहेको तर जनताका कारण नदिएको उनले दाबी गरे । जनताले अगाडि बढ भनेकाले राजीनामा नदिई बसेको उनले बताए ।